सुदूर नेपाललाई विश्वसँग जोड्दै

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय डडेल्धुराका भट्ट

२०८१ कार्तिक ८, ०२:३० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि कृषि र पशुपालनमा सक्रिय छन्।

यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै  वार्षिक १० लाख आम्दानी लिने गरेको उनले बताए। विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्।

हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन। कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनले बताए। खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैन।

तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन्। भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ। बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ। पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन। पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन्। 

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने भट्टको सुझाव छ। 
 

कमेन्ट लोड गर्नुस