सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली जीप दुर्घटना (अपडेट) : गोताखोरसहितको टोलीले पनि जीपमा सवार यात्रु भेट्टाउन सकेन

। फोटो स्रोत ।
२०७६ असार ५, १२:४२

मंगलबार कर्णाली नदीमा खसेको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि अहिले सम्म भेट्टाउन सकिएको छैन। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनामा कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नंम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। 

मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो। स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन्।

दुर्घटनामा परेकि उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। जीप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो।

कुनिटारबाट दुर्घटनास्थलमा पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए। कर्णाली नदीमा खसेको जीपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन। रासस
 

कमेन्ट लोड गर्नुस