सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय बुद्धिचाल आजदेखि
कञ्चनपुरः सुदूरपश्चिममा पहिलो पटक राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।
कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी गाउँमा राष्ट्रियस्तरको बुद्धिचाल हुन लागेको आयोजकले जनाएको छ। नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। एकेडेमीका अध्यक्ष तथा संयोजक नारायणदास गमालले एकैपटक प्रथम राष्ट्रिय ब्लिट्ज, दोस्रो राष्ट्रिय र्यापिड र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको बताए।
तेस्रो नोकोस क्लासिकल खेल ६० मिनेट, प्लस ३० सेकेन्ड प्रतिचालको ९ राउन्ड हुनेछ। यस्तै र्यापिड स्विस लिगअनुसार १५ मिनेट प्लस १० सेकेन्ड प्रतिचालको ९ राउन्ड र ब्लिट्ज स्विस लिगकै ३ मिनेट प्लस २ सेकेन्ट प्रतिचालको ९ राउन्डमा हुनेछ। ब्लिट्जतर्फका विजेताले २५ हजार रुपैयाँ हात पार्नेछन्। दोस्रो राष्ट्रिय र्यापिडका विजेताले ३० हजार र तेस्रो नेकोसका च्याम्पियनले ६० हजार रुपैयाँ हात पार्नेछन्। समग्रमा ६५ खेलाडीलाई चार लाख ७० हजार रुपैयाँ विजेता धनराशि रहेको छ।