सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदिक हिन्दू धर्ममा पशुबलि अनिवार्य!

२०८१ असोज २५, ०७:१२

 विष्णुराज भट्ट: सनातन वैदिक वर्णाश्रम धर्मलाई सामान्य बोलीचालीमा हिन्दू धर्म भन्दछन्। यसका मूल ग्रन्थहरु स्व शाखा वेदका मन्त्र संहिता, व्राह्मण ग्रन्थ, धर्मसूत्र , स्मृतिहरु, पुराणहरू, महाभारत , रामायण आदि पर्दछन्। नेपाली व्राह्मणहरू मुख्यतया शुक्ल यजुर्वेदी माध्यन्दिनिय-वाजसनेयि शाखाका हुनाले र उनीहरुलाई गुरु पुरोहित मानेर कार्य गर्ने अन्य जातिको पनि मूल कर्मकाण्डको आधार शुक्ल यजुर्वेद नै हो।

शास्त्र भनेको मन्त्र द्रष्टा ऋषिको वचन हो। जुन ग्रन्थमा उल्लेख गरिएको पाइन्छ।मानवले निर्णय गर्न नसक्ने विषय ऋषिहरूले निर्णय गरेका हुन्छन्।त्यसकारण मानव तर्क शास्त्रमा काम लाग्दैन।भनाइको मतलब शास्त्र नै अन्तिम निर्णय गर्ने आधार हो।

परम्परा शब्दले कुलमा पहिल्यै देखि पुर्खाले आचरण गरेको वा अपनाएको चलन भनेर थाह हुन्छ। कूल परम्पराको अत्यन्तै ठूलो महत्व रहेको छ। शास्त्र अनुसार परम्परा चलेको भए त्यो स्वीकार्य हुने भयो।यदि मूल शास्त्रको विरोध पर्ने भएमा सुधार गर्दै लैजानु अत्यावश्यक हुन्छ।यदि मूल शास्त्रमा विरोध नपर्ने भएमा ती कार्यहरू ऐच्छिक हुने भए।

बलि भनेको देवी / देवतालाई समर्पण गर्न विधि पूर्वक मारण गरिएको पशुलाई भन्दछन्। दशमी तिथिको नाम बाट दसैं शब्द लोकमा बोल्न, लेख्न सजीलो हुनाले बढी प्रचलनमा रहेको पाइन्छ। सदा झैँ दसैं नजिक आएमा हाम्रा शास्त्र र परम्परामा बलिको स्पष्ट प्रमाण भए पनि त्यसलाई नकारात्मक रूपमा चर्चा गरेर हिन्दू धर्ममा आस्था राख्नेलाई समेत दिग्भ्रमित पार्ने र हिन्दू धर्म बेकार हो भन्ने धारणा बनाउन पशुबलिलाई एक हतियारको रूपमा प्रयोग गर्ने कोही नबुझेर, कोही वेद बाहिरका विभिन्न प्रकारका संप्रदाय हरुको भ्रममा पारेर त कोही भने षड्यन्त्रकारीको प्रायोजित रूप बाट हुँदै आएको स्पष्ट रूपमा देखिन्छ।

केहि विदेशीहरूले वेगान् (vegan) नाम दिएर झन् हाम्रा महनिय परम्परालाई घृणा गर्ने दुष्प्रयास पनि हुँदै आएको छ। पछिल्लो समयमा आएका अहिलेका वेद बाहिरका विभिन्न प्रकारका संप्रदाय/पन्थको गलत प्रचारमा बहकिएर वा मूल कुरा पढ्न , सुन्न नपाएर पनि अरुबेला धर्ममा आस्था राख्ने व्यक्ति पनि दसैं नजिक चाहिँ पशुबलिको व्यवस्था शास्त्रमा कतै पनि छैन भन्दै निकै नै नकारात्मक धारणा राखेको पाइन्छ। त्यसैमा झन् आफू मासु खाने तर शास्त्रको विधि विधान अनुसार देवी / देवतालाई पशुपन्छी चढाउँदा हत्या/ हिंसा भयो भन्ने कुरा आफैमा हास्यास्पद एबम् मूर्खतापूर्ण छ। आस्तिक जनले यस्तो गलत कुरा बोल्न / लेख्न हुँदै हुँदैन। तर मांस भोजन नगर्नेले घिरौँला आदिको बली दिने शास्त्र अनुसार सही हो। तर कूल परम्परा अनुसार मासु नखानेले पनि कुनैबेला कुनै न कुनै रूपमा पशु चढाएर देवताको पूजामा सहभागी हुन पर्ने भएमा हुनुपर्छ। जस्तै : कतै भाकल भएमा, विवाह पछि माइती देवता बोका आदि खाने भएमा आदि।

मांस भोजन शास्त्रमा स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ। तर कतिपय अरूको हाहामा लागेर वा अरूको उक्साहटमा परेर अरूको प्राण खान हुन्छ र? भनेर अत्यन्तै अशास्त्रीय कुरा पनि गर्छन्। मांस खानु वा नखानु त्यो व्यक्तिगत रुचिको कुरा पनि हुनसक्छ।जस्तै कसैलाई दही मन पर्दैन ,कसैलाई मही कसैलाई दूध / घ्यू आदि। बिरामी अथवा अन्य कुराले गर्दा पनि कोही मासु नखालान।तर शास्त्रमा कसको मासु खाने ( भक्ष्य )? कसको मासु नखाने ( अभक्ष्य ? , कसको तरकारी खाने ( भक्ष्य)? कसको तरकारी नखाने( अभक्ष्य)?भनेर कडा नियम छ। विशेष गरी व्राह्मण जातीलाई झन् कडा नियम छ।जुनसुकै प्रकारको मद्यपान पनि बाहुनलाई निषेध हुने हुनाले खाएमा महापातक लाग्ने र पुनः व्रतवन्ध गरेर प्रायश्चित्त गरेर मात्र आफ्नो लागि र अरूको लागि धर्म कर्म गर्न मिल्ने शास्त्र ब्यवस्था छ। भक्ष्य मासु जो देवी,देवता र पितृलाई चढाइन्छ त्यो मासु उक्त दिन व्राह्मणले खानै पर्ने, नखाएमा दोष लाग्ने धेरै शास्त्रमा बताइएको छ। प्रमाण हेरौं -----

प्रमाण नं १. अभक्ष्यो ग्राम्यकुक्कुट:,अभक्ष्यो ग्राम्यशूकर:, गम्यत एतदारण्यो भक्ष्यो इति। -( पा . व्या.)

श्रोत: सनातन धर्ममा बलिको अपरिहार्यता, प्रा डा आमोद

आचार्य, २०८०/

प्रमाण नं -२ पलाण्डुं बिड्बराहं च्छत्राकं ग्राम कुक्कुटम् ।

लशुनं गृञ्जनं चैव जग्ध्वा चान्द्रायणम् चरेत।।

अब पशुबलि बारे हेरौं । जुन शास्त्रमा स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ।

प्रमाण नं ३.

देवीभागवतमा त मासु खाने व्यक्तिहरूले देवीलाई राँगो, बोको वा बदेलको बलि दिनुपर्ने कुरा र देवीका अगाडि बलि दिइएका पशु स्वर्ग जाने भएकाले बलि दिँदा हिंसाको दोष नलाग्ने कुरा बताइएको छ—

मांसाशनं ये कुर्वन्ति

तैः कार्यं पशुहिंसनम्।

महिषा–ऽज–वराहाणां

बलिदानं विशिष्यते।।

देव्यग्रे निहता यान्ति

पशवः स्वर्गमव्ययम्।

न हिंसा पशुजा तत्र

निघ्नतां तत्कृतेऽनघ।।

—देवीभागवत ३।२६।३२–३३।

प्रमाण नं - ४.

दुर्गा सप्तशती (१२/२० )मा पशु बलि चढाएर देवीको उपासना गर्ने प्रसङ्ग ---

पशुपुष्पार्व्यधूपैश्च गन्धदीपैस्तथोत्तमै:

प्रमाण नं ५.

वाल्मिकी रामायणमा (४/१७/३७/{३९})पनि पाँच वटा नङ हुने कछुवा,खरायो , सालक इत्यादि पाँच पशु खान हुने( भक्ष्य) भनेर गनीएको छ।

पञ्च पञ्च नखा भक्ष्या ब्रह्म - क्षत्रेण राघव।

शल्यक: स्वाविधो गोधा शश: कूर्मश्च पञ्चम:।।

वाल्मिकी रामायण { आरण्य काण्ड ४७( २३- २४)} मा सीताजीले भेष बदलेर आएका रावणलाई तपस्वी जन (पति र लक्ष्मण) रुरुमृग , गोही र बँदेल जस्ता हिंश्रक जनावरको शिकार र फलफूल आफ्नो उपभोगको लागि छिट्टै ल्याएर फर्किनेछन्। फर्किएपछि तपाईंको विषेश सत्कार गर्नेछन् ।अब तपाईं आफ्नो गोत्र कुलको परिचय दिनुहोस् र यो जङ्गलमा किन आउनुभएको हो? त्यो मलाई बताउनुहोस्। भनेर प्रष्ट भनिएको छ।

प्रमाण नं -६

रूरून् गाेदान् वराहंाश्च हत्वा दायामिषं बहु।

स त्वं नाम च गोत्रं च कुलमाचक्ष्व तत्त्वत्त:।।

एकश्च दण्डकारण्ये किमर्थं चरसि द्विज।।

मनुस्मृतीमा (५/२२) ब्राह्मणहरुद्वारा यज्ञका निम्ति शस्त्रविहित पशुपक्षीहरुको गरिनुपर्छ। पोष्यवर्गका वृत्तिका निम्ति पनी ब्राह्मणद्वारा शास्त्रले अनुमतिदिएका पशु पक्षी हरुको बध गरिन पर्छ। किनभने उहिल्यै अगस्त्य मुनिले यस्तो बध गरेका थिए :

प्रमाण नं - ७

यज्ञार्थं ब्राह्मणैर्वध्या: प्रशस्ता मृगपक्षिण:।

वृत्यर्थं चैव भृत्यानामगस्त्यो ह्याचरत् पुरा ।।

गीता ,गीता भनेर खुब कुप्रचार गर्दै आएका केही बाबा हरु भन्छन्: (अहिंसा परमो धर्म: ) तर स्वयं क्षेत्रीय वर्णका अर्जुन युद्ध गर्दा धेरै मर्ने भए अब म युद्ध गर्दिनँ भनेर युद्ध देखि हार खाएर एक किसिमको आत्मविश्वास गुमाएर डिप्रेसनमा ( खिन्नतामा)पुगिसकेका अर्जुनलाई लाई भगवान् कृष्ण आएर : हुन्न अर्जुन यस्तो त। तिमी त क्षेत्रिय हौ, तिम्रो धर्म त लड्नु र धर्म रक्षा गर्नु हो। कहाँ मान्छे मर्छन् भनेर युद्ध नगर्ने? युद्ध गर । धर्म रक्षाका लागि मार । बाँचेमा चक्रवर्ती राजा समान हुनेछौ, मरेमा स्वर्ग जाने छौ, लड़ाई गर अर्जुन! भनेर कृष्णले भनेपछि लड़ाई गरे । अब अहिंसा ? अहिंसा ? भनेर गीताको पुस्तक देखाउन मिल्छ त? यस्ता मूल कुरा छोडेर मान्छे बराल्ने देखि बचौँ !

हिंसा भन्ने कुरा ठूलो मात्र हेर्ने ,सानो जीवको हिंसा नै नभन्ने कुरा गलत हो। सागपात ,तरकारी अन्न तथा फलफूलहरु निर्जीव ढुङ्गा जस्तै हुन् भन्ने भ्रम हाम्रा ऋषिमुनिहरुमा थिएन।त्यसमा पनि प्राण छ।(अहिंसा परमो धर्मः) भनेको अनावश्यक हिंसा नगर ,आवश्यक हिंसा गर । सागपात खाँदा के हिंसा हुन्न?

रूख काटेर चोप आउँदैन? के त्यो निर्जीव हो? फेरि गृहस्थ आश्रममा बसेका हामीले सन्यास ग्रहण गरेर सन्यास आश्रममा बसेका जोगी आदिको नियम लागू हुन्न। उनीहरूको भन्ने नियम हाम्रोमा लागू हुन्न। जोगीहरूको लागि त रुख काट्न पनि हिंसा मानिएको छ। तर बिहेबारी गरेर गृहस्थ आश्रममा रहेका हामीलाई त्यो आवश्यक रुख काट्दा हिंसा हुन्न। सबभन्दा ठूलो गृहस्थ आश्रम भनिएको छ। किनकि अरु आश्रममा रहेका पनि हामी गृहस्थकै अन्न सब्जी आदि खाएर बाँच्न पाउने हुन्छन्।

भारतबाट आयात गरिएका विभिन्न पन्थहरुले मिशनरी भन्दा खतरनाक कार्य गरेकै छन् ।कसैबाट लुकेको छैन ।यो मिशनरी भन्दा पनि घातक हो ।नेपालीलाई आफ्नै कुल परम्पराबाट भ्रष्ट गराएकै छन् ।हामी कुनै संप्रदायमा न लागेका मौलिक परम्पराकाले यो सजिलै बुझौँ । रङ्गी विरंगी वेशभूषा,जटाधारी, तिलाकधारी सुन्दा मीठा मीठा शब्द लोकमा लाग्ने तर तिनीहरू हाम्रो धर्म नष्ट गर्ने हुनाले आस्तिक जनले साबधान रहनुपर्छ। भुलबस विभिन्न प्रकारका संप्रदायको दिक्षा ग्रहण गरेरको भएमा विधिवत् रूपमा प्रायश्चित्त गरेर भएपनि आफ्नै कूलको वैदिक हिन्दू धर्ममा फर्किनु पर्छ।

हिंसा मानव जीवनको पाइला - पाइलामा छ। हिंसा बिना संसार चल्दैन। एक जीव अर्को जीबमा निर्भर छ। खेतीपाती गर्दा कति धेरै किरा मर्छन् ।

हिँड्दा खेरी कयौं साना कीरा मर्छन्, । अहिंसा भन्ने र बलिको विरोध गर्ने विषय प्रकृति विरुद्धको चर्चा हो। अनि शास्त्रको रुपमा त झन् नास्तिक कुरा हो । अहिंसा लाई लिएर पशुबलि दिनुहुन्न भन्नेहरु के फलफुल चढाउँदा : ढुङ्गाका फलफुल चढाउँछन् कि? फलफुल पनि सजीव हो । प्राण हुन्छ। त्यसकारण भनिएको छ:( वैदिकी हिंसा हिंसा न भवति ) तसर्थ हिंसा लाई बलि सँग मात्र जोड्नु गलत मात्र होइन अपितु अज्ञानता पनि भएको प्रष्ट हुन्छ।

कोही चाहिँ आफू देवतालाई बोका आदि भाकल गरेर चढाउने , अनि माइती देवतालाई पनि दिने, कतै लागेको देवता लाई पनि बोका आदि पञ्चबलि चढाउने तर दसैँको अवसरमा चढाउने पशुबलि देवीलाई बाहुनले मासुले पूजा गर्नुहुन्न भन्दै अत्यन्तै शास्त्र विपरीत अभिव्यक्ति समेत दिएको सञ्चार माध्यमहरुमा सुनिन्छ। वासमतिको भात , मार्सी भात सँग खसीको मासु खाँदा केही नहुने तर देवीलाई बाहुनले पशुबलि दिन हुन्न। क्षेत्रीयले मात्र हो भनेर उल्टा कुरा कसरी कुन वैदिक शास्त्रको आधारमा बोल्छन्? यस्तो हुँदै होईन।

त्यसकारण आ आफ्नो कूल परम्परा अनुसार नवरात्रमा देवीको मन्दिरमा पशुबलि चढाएर देवीको पूजा गर्ने र आशीर्वाद ग्रहण गरेर हाम्रा पुर्खाले अनादि देखि लामो समय सम्म त्यो नियम लागू गरेका थिए। जुन शास्त्रमा स्पष्ट छ। अहिले पनि छदै छ। जति पशुबलि बारे विरोध गरेपनि यसमा कुनै फरक पर्दैन। गृहस्थका जीवनमा नित्य प्रयोग हुने प्राणीको हिंसा हुने बधस्थलहरू चुलो,पिन्ने जाँतो, कुचो, ओखल र पानीको घैंटो हुन् भनेर मनुस्मृतिमा(३/६८) बताइएको छ। प्रमाण नं - ८

पञ्च सूना गृहस्थस्य चुल्ली पेषण्युपस्कर:।

कण्डनी चोदकुम्भश्च वध्यते यास्तु वाहयन्।।

तसर्थ यज्ञमा गरिने पशुबलिलाई शास्त्रले हिंसा मानेको छैन।अहिंसा मानिएकोले नै दुर्गा पूजा आदिमा पशु बलि दिने चलन चल्दै आएको हो। दुर्गा माताको मन्दिरमा वा स्थानमा बलि दिएर पूजाआराधना गर्ने बेलामा तिथिको घटबढका आधारमा अन्योल सिर्जना हुने भएकोले सकेसम्म सरासर हेरेर गर्नु उत्तम हुन्छ। किनकि सुदूरपश्चिमतिर धेरै ठाउँमा सरासर हेर्ने प्राचीन कालदेखि वैदिक तिथि गन्ने तरिका रहिआएको छ।

कमेन्ट लोड गर्नुस