सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको बरदान दिने यी हुन् सुदूरपश्चिममा देवीदेवताका प्रमुख वासस्थान

२०८१ असोज २५, ०९:१८

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश देवीदेवताको वासस्थान हो। यहाँ ठूलठूला देवीदेवताका शक्तिपीठ छन्। देव भूमि सुदूरपश्चिमलाई धार्मीक पर्यटकको मुख्य गन्तव्य बनाउन सकिने थुप्रै आधारहरु छन्।

यतिबेला महान चाड वडा दशैंले गाउँघरमा चहलपहल बढाएको छ। स्वदेश तथा विदेश गएकाहरु पनि जन्म घर फर्कनेक्रम अहिले पनि जारी नै छ। आफ्नो देवीदेवताको दर्शनका लागि कर्मथलोलाई केहिदिनका लागि छोडेर जन्म थलो फर्कनेको यति बेला निकै ठूलो भिँड छ। कतिपय घर फर्किसकेका छन भने कतिपय यात्राकै क्रममा छन्। दशैंदेखि तिहारसम्म विदामा आएकाहरु मध्ये धेरैले सुदूरपश्चिमका यी प्रमुख शक्तिपीठको दर्शन गर्ने योजना पनि बनाएका छन्।
त्रिपुरा सुन्दरी मन्दिर, बैतडी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी स्थित दशरथचन्द नगरपालिका–८ मा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर १४÷१५ औं शताब्दीतिर स्थापना भएको मानिन्छ। यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट पश्चिम दिशामा पर्छ र त्यहाँबाट करिब ३ किलोमिटर टाढा छ। जिल्ला सदरमुकामबाट सो स्थानमा पुग्न गाडीबाट १०–२० मिनेट र पैदल एक घण्टा भन्दा कम समय लाग्छ। सो स्थानमा पुग्न सडक बाटोको प्रकृति पिच छ।

जिल्लाको सदरमुकामबाट सो स्थान पुग्ने मुख्य बाटो गोठालापानी हुँदै सुन्दरखाली त्रिपुरासुन्दरी हो। जिल्ला सदरमुकाम पुग्न कैलालीको अत्तरियाबाट महाकाली राजमार्ग हुँदै करिब १० घण्टा लाग्छ भने विकल्पमा काठमाडौंदेखि धनगढीसम्म ७० मिनेट हवाइयात्रा गरी त्यहाँबाट १७६ किलोमिटरको उत्तरपश्चिम यात्रा गरेर बैतडी पुग्न सकिन्छ। जिल्ला सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिमतर्फ गोठालापानी–झुलाघाट सडक खण्डको छेउमा रहेको उक्त मन्दिर रणशैनी भगवतीको नामले समेत चिनिन्छ।
मेलौली भगवती मन्दिर, बैतडी
मेलौली भगवती मन्दिर सात बहिनी भगवती शक्ति पीठमध्ये एक हो। धनगढीबाट बैतडी जिल्लाको सदरमुकामसम्मको दुरी २१४ किलोमिर रहेको छ। बैतडी पाटन नगरपालिकाबाट दक्षिण पश्चिममा करिब ३३ किलोमिटरको दुरीमा छ। मन्दिर परिसरले ओगटेको क्षेत्रफल १ सय ३४ रोपनी हो। विशाल दुवोचौरमा आकर्षक शिखरशैली भित्रपर्ने प्यागोडा शैलीमा निर्मित यस मन्दिर जनश्रूती अनुसार १८ औं शताब्दीतिर निर्माण गरिएको हो।

प्रसिद्ध शक्तिपीठका रुपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ। पछिल्लो समय सडक पुगेपछि भक्तजनलाई सजिलो भएको छ। जिल्ला सदरमुकामबाट सो स्थान पुग्न मुख्य सडक गोठालापानी, पाटन, सलेना, मेलौली हो।
खप्तड क्षेत्र (बाजुरा, बझाङ, अछाम, डोटी)
सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाहरु बझाङ्ग, बाजुरा, डोटी र अछामको संगम स्थलमा अवस्थित खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहदेखी दुई हजार चार सय देखि दुई हजार ७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बिचमा १२ हजार फिट अग्लो खप्तड लेक छ।

५० वर्ष अघि महान दार्शनिक, चिकित्सक, वैज्ञानिक र ज्योतिषका रुपमा प्रख्यात खप्तड बाबाले तपस्या गरेको सो स्थानमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी र वरीपरी २२ वटा पाटन र ५३ वटा थुम्काहरु समेत रहेका छन्। सो क्षेत्रमा लाग्ने विभिन्न सांस्कृतिक मेलामध्ये गंगा दशहरा मेलामा हजारौ तिर्थयात्री भेला हुने गर्छन्। मेलामा सुदूरपश्चिमको प्रसिद्ध हुड्के नाँच र देउडा हेर्न ठुलो संख्यामा आन्तरिक एवं विदेशी पर्यटक समेत जम्मा हुने गर्छन्।
परशुराम धाम, डडेलधुरा
स्कन्दपुराणको मानसखण्डमा उल्लिखित ‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’ भन्ने भनाइले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ। डडेलधुरा जिल्लाको दक्षिण–पश्चिम तथा डडेलधुरा तथा कञ्चनपुरको सीमानामा अवस्थित परशुरामधाम डडेलधुरा बजारदेखि करीब एक सय किलोमिटर टाढा रहेको छ भने अत्तरिया–डडेलधुरा (भीमदत्त पन्त राजमार्ग) को बुडर, डोटीदेखि करिब ४२ किलोमिटरको दुरीमा छ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण सो पवित्र तीर्थस्थल क्षेत्र एला र श्यामा नदीको संगममा अवस्थित छ। परशुरामधाम साविकका शीर्ष र जोगबुढा गाँउविकास समिति मिलाएर बनेको परशुराम नगरपालिका–५ मा छ। सो क्षेत्रमा यज्ञादिसँगै विवाह, व्रतबन्ध लगायत संस्कार र अनुष्ठान गर्ने गरिन्छ। रथ पूजनको विशेष महत्व छ। विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ।
उग्रतारा मन्दिर, डडेलधुरा
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै ठूलो तथा प्रसिद्ध शक्तिपिठ मानिन्छ। सो मन्दिर डडेलधुरादेखि ४ किलोमीटर पश्चिमपट्टी छ। सो मन्दिरलाई नेपालको सुदूरपश्चिमका नौ भगवती मन्दिरहरूमध्ये एक मन्दिर मानिन्छ। डडेलधुराको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५ किलोमिटरको दुरीमा डडेलधुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको अग्लो विशाल तथा रमणीय फाँटमा रहेको छ। उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो जात्रा लाग्ने गर्छ। वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पुरा हुने जनविश्वास छ।
चन्द्रेश्वर महादेव (सिद्धबाबा) को स्थान
माता पूर्णागिरीका सामुन्ने दक्षिण दिशामा रहेको छ। माता पूर्णागिरी र सिद्धबाबाको पुण्यस्थलमा करीब ३ देखि ४ किलोमिटरको दुरीमा महाकाली नदी मौनब्रत धारण गरेर शान्त धारामा बाह्रै महिना अविराम बगिरहेकी छन्। यो ठूलो नदी, माता र बाबाको क्षेत्रमा बाधा नपु¥याई शान्त बगिरहनु पनि ठूलै चमत्कार हो। शिव र शक्तिको यस्तो अनुपम संयोग र मनोहर दृश्य सर्वत्र देख्न पाइँदैन।

पूर्णागिरी माताको स्थानमा भक्तजनहरुले बजाइराखेको शंख–घण्टीहरुको ध्वनी सिद्धबाबाको स्थान नजिकै स्पष्ट सुनिन्छ। २०४८ सालमा श्री सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रह्मदेवको विधिवत स्थापना भई मन्दिरको संरक्षण र सम्वद्र्धनको काम गरिरहेको छ। सो समितिले मन्दिरको भूमीको व्यवस्थापन र संरक्षणका साथै बजार व्यवस्थापन, वृहत यज्ञशाला, यज्ञमण्डप, धर्मशाला, शौचालय, स्नान गृह तथा स्थानीय स्तरका बाटोहरुको निर्माण र जेहेन्दार छात्र–छात्राहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।
मालिकार्जुन मन्दिर, दार्चुला
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा पर्ने देशकै सातौँ धाम शिखर मालिकार्जुन धामको मन्दिर रमणीय तथा धार्मिक पर्यटकीय स्थल हो। मालिकार्जुन मन्दिर सदरमुकाम खलंगाबाट ५० किलोमिटरको सडक दुरीमा छ। शिवपुराण लगायत विभिन्न पौराणिक धार्मिक ग्रन्थहरुमा देवाधिदेव महादेवका १२ वटा ज्योतिर्लिंङग मध्ये एउटा ज्योतिर्लिंङगको रुपमा मालिकार्जुन मानिएको छ।

मालिकार्जुन मन्दिर भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकाले मालिकार्जुनको बाँस स्थानलाई देवताहरुको राजधानी पनि भनिन्छ। धार्मिक एवं पूरातात्विक महत्वले भरिपूर्ण मालिकार्जुन मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरु आउने र पूजाआजा गर्ने गर्छन्। नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै सातौ धाम भनेर घोषणा गरेको प्रमुख धार्मीक पर्यटकीय स्थल मालिकार्जुन मन्दिरमा विशेषगरी भदौमा गौरा पर्व र कार्तिक, मंसीर महिनामा विशाल जात्रा लाग्ने गरेको छ।
शैलेश्वरी मन्दिर, डोटी
सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकीय तीर्थस्थल शैलेश्वरी मन्दिर डोटीको  सिलगढी दिपायल नगरपालिका–१ शैलेश्वरीमा अवस्थित छ। सो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ। शैलेश्वरी मातालाई साक्षत देवीको उपमा दिइन्छ। सो मन्दिलाई सुदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। प्रत्येक १२ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्छ।

१ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ। प्यागोडा शैलीमा निर्मित सो मन्दिर कलात्मक र आकर्षक छ। शैलेश्वरी परिसरमा अन्य सातवटा मन्दिरहरु पनि छन। जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्छ। सो मन्दिरमा पूजा गरे मनोकामना पुरा हुने विश्वास छ।
बेहडाबाबा मन्दिर, कैलाली
कैलालीको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको बेहडाबाबा मन्दिर धनगढी उपमहानगरपालिका– १६ स्थित रामपुर गाँउमा रहेको छ। धनगढीबाट बेहडाबाबा मन्दिर पुग्न कच्ची र पक्की सडक गरी करीब १७ किलोमिटरको यात्रा गर्न गाडीमा करीब ४५ मिनेट समय लाग्ने गरेको छ। करीब २ हेक्टर क्षेत्रफलमा फैलिएको तथा करीब ३६ हेक्टरमा महादेव ताल र वन क्षेत्रले ओगटेको नेपाल र भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरको रुपमा परिचित सो मन्दिरमा दुवै देशका दर्शनार्थीहरुले दर्शन गर्दै आएका छन्।

बेहडाबाबा मन्दिरमा वर्षभरी नित्यपूजा (बिहान र बेलुका) हुने गरेको भए पनि सोमबार र शनिबार उल्लेख्य संख्यामा भक्तजनहरुको उपस्थिति हुने गरेको छ। बेहडाबाबालाई भारतीयहरुले कुलदेवताको रुपमा मान्ने गरेका छन। तसर्थ, यस क्षेत्रमा लाग्ने गंगादशहरा, महाशिवरात्री, माघे संक्रान्ति, दशैं र चैते दशैं मेलामा निकै संख्यामा भारतीय पर्यटक अवलोकन गर्न पुग्छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार स्वदेशी र विदेशी गरी वार्षिक करीब ५–६ लाख जतिले बेहडाबाबाको दर्शन गर्ने गरेका छन। दशैं र तिहारमा प्रदेशभित्र रहेका यी प्रमुख देवीदेवताका वासस्थानको दर्शन गर्दा उपयुक्त हुने धार्मीकशास्त्रीहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस