विजयादशमीको ऐतिहासिक महत्त्व
–मानसिंह धामीः दशैं हिन्दुहरूको महान चाड हो। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन रहेको छ। असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो।
यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ। बडादशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व हो। दशैंलाई बडादशैं दशहरा, विजयादशमी, आदि नामले पनि जानिन्छ। यो पर्व खास गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी गरि लगातार चार दिनको महापर्व हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो।
विजयादशमी विजय (जित) र दशमी (दशौँ दिन) गरि दुई शब्दहरूको संयोजन हो। दशौँ दिनमा असत्यमाथि सत्यको विजयको उत्सव मनाउने चाडलाई सङ्केत गर्दछ। रावणले सीतालाई अपहरण गरी लङ्कामा आफ्नो राज्यमा लिएर जान्छ। रामले रावणलाई सीतालाई छोड्न आग्रह गर्छन्, तर रावणले अस्वीकार गर्छन्। स्थिति बढ्दै जान्छ र युद्धको रूप लिन्छ।
दश हजार वर्षसम्म कठोर तपस्या गरेपछि रावणलाई सृष्टिकर्ता(देवता ब्रह्माबाट वरदान प्राप्त हुन्छ। अबदेखि उसलाई देवताहरू, प्रेतहरू वा आत्माहरूद्वारा मार्न सकिदैनथ्यो। भगवान विष्णुले मानव रामको रूपमा उनलाई परास्त गर्न र मार्नको लागि अवतार लिन्छन्। यसरी भगवान ब्रह्माले दिएको वरदानलाई रावणले बेवास्ता गर्छन्। राम र रावणबीच एक घातक र भयङ्कर युद्ध हुन्छ जसमा रामले रावणको वध गर्छन् र उनको दुष्ट शासनको अन्त्य गर्छन्।
रावणका दशवटा शिर छन्। दशवटा शिर भएको व्यक्तिको हत्यालाई दशहरा भनिन्छ। अन्ततः रामले रावणमाथि विजय प्राप्त गरेका कारण पृथ्वीमा धर्मको स्थापना भयो। यो पर्वले असत्यमाथि सत्यको विजयको स्मरण गर्दछ। दशैंको पर्वमा मालश्री (दशैंमा बिहान बेलुकी गाइने दुर्गादेवीको स्तुति गान) धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ। देश विदेश वा टाढाटाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ।
दशैंमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्त्वका रूपमा लिइन्छ। दशैंमा नवदुर्गा हिन्दु धर्मकी शक्तिस्वरुपा देवी दुर्गाको नौवटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ। नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्ल पक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ।
दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टीका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ। टाढाटाढादेखि आउने पाहुनाहरूले पूर्णिमा सम्म पनि टीका लगाएर आशीर्वाद लिने दिने गरिन्छ।
नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दु धर्मावलम्बी हरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका (प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन्।
दशैं प्रतिपदा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशैं भनिन्छ। यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपाती, महाअष्टमी, वा कालरात्रि, महानवमी, विजया दशमी र पूर्णिमा वा कोजाग्रत दशैंका प्रमुख तिथिहरू हुन्। आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ।
प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड,स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने (खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ। यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविय शक्ति प्राप्त भई कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ।
अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति (पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो। दशैं पर्वले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ। महासप्तमी नवरात्रिको सातौँ दिन फूलपाती हो।
नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लव (नयाँ निस्केको पात) हरू घर घरमा भित्र्याइन्छ। वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धि कारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहँदैनन् भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसी दानी आदिको पनि पूजा गरिन्छ।
किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्दछन्। महाष्टमी नवरात्रिको आठौँ दिनमा महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो, नरिवल, कोभिण्डो आदिको बलि दिइन्छ। महानवमी नवरात्रिको नवौँ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा(आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ।
काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट गरि यी दस प्रकारका विकारहरू छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ। नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो। कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ।
यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ। त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऔं अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो। तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले। त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा राँगा बलि चढाउने प्रचलन रहेको छ। विजया दशमी नवरात्रिको दशौँ दिनलाई विजया दशमी पनि भनिन्छ।
सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसका बिचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बिचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहनं र सोह्र सामग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास रहेको छ।
नवरात्रीका अवसरमा हाम्रो दार्चुला जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरहरूमा महाअष्टमी, नवमी र दसैँका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ। प्रत्येक मन्दिरहरूमा विभिन्न उत्सवहरूको पूर्वसन्ध्यामा भणारी घरबाट विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, देव सिंहासन, पानस, पगरी, भाला, शंख, कलस, तामाको गाग्री, कुणेलो, आदि सामानहरू मन्दिरमा भित्र्याउने चलन रहेको छ। –लेखक धामी कैलाली बहुमुखि क्याम्पसका उप–प्राध्यापक हुन्।