अमेरिकामा शक्तिशाली ’मिल्टन’ आँधी आउँदा ५१ स्थानमा आपतकालीन अलर्ट जारी
एजेन्सीः अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ।
राष्ट्रिय तूफान केन्द्रले यसलाई सबैभन्दा विनाशकारी आँधीको श्रेणी ५ मा राखेको छ। यस वर्गमा ठूलो जनधनको क्षति हुने खतरा छ। मिल्टनले बुधवार फ्लोरिडाको सघन जनसंख्या भएको क्षेत्र ’टाम्पा बे’ मा प्रहार गर्ने बताइएको छ। अहिले यो टाम्पा बे बाट एक हजार किलोमिटर टाढा रहेको छ।
टाम्पाको जनसंख्या ३० लाखभन्दा बढी छ। यो आँधी टाम्पा खाडीमा पुग्दा कमजोर हुने अनुमान गरिएको छ। यसपछि यो मध्य फ्लोरिडाबाट एट्लान्टिक महासागरतर्फ सर्नेछ। आँधी मिल्टन अहिले मेक्सिकोको खाडीबाट गुज्रिरहेको छ। सोमवार राति आएको आँधीको गति करिब २८५ किलोमिटर प्रतिघण्टा थियो। यो फ्लोरिडा राज्यतर्फ गइरहेको छ। आँधीका कारण फ्लोरिडाका ६७ काउन्टी मध्ये ५१ मा आपतकालीन अलर्ट जारी गरिएको छ।
फ्लोरिडाका तटीय क्षेत्रहरू खाली गरिँदै छन्। हालसम्म करिब ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै सिएनएनका अनुसार फ्लोरिडाका अधिकांश युनिभर्सिटी र कलेज बन्द गरिएको छ भने स्थानीय प्रशासनले समुन्द्री किनार र सम्भावित खतरा हुने क्षेत्रमा कर्फ्यु जारी गरेका छन्। यसअघि अमेरिकामा हेलेन आँधी आएको थियो। यसमा कम्तीमा २३६ जनाको मृत्यु भएको थियो।