क्रिकेटमा सुदूरकी सम्झना
बझाङः गत साउन ४ मा श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महिला एसिया कप क्रिकेट चलिरहेको थियो। रंगशालादेखि प्रत्यक्ष प्रसारबाट विश्वभरका नेपाली दर्शकले उक्त खेल हेरिरहेका थिए। प्रतिस्पर्धामा थियो, नेपाल र यूएई।
नेपाल १ सय १६ रनको लक्ष्यसहित मैदानमा उत्रियो। पहिलो विकेटका रूपमा नेपालले ३१औं बलमा सीता रानामगरलाई मात्र ७ रनमा गुमायो। रनरेट राम्रो भए पनि विकेट पतन भने निरन्तर भइरहेको थियो। सीतापछि माथिल्लो क्रमका ब्याटर कविता कुँवर (२), कप्तान इन्दु बर्मा (६), पूर्वकप्तान रुविना क्षेत्री (१०) सस्तैमा आउट भए।
नेपालको जितका लागि ओपनर सम्झना खड्का एकमात्र भरोसा बाँकी थिइन् । उनले पाँच जनासँगको ‘पार्टनरसिप’ मा मात्र ४५ बलमा ७२ रनको नटआउट इनिङ्ग मात्र खेलिनन्, नेपाललाई २३ बल अगाडि नै जित दिलाइन् । खड्काले ३५ बलमा अर्धशतक पूरा गर्दै नेपाली महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने पहिलो खेलाडीसमेत भइन्। समग्रमा ११ चौका हानेकी सम्झनाले अन्तिम विजयी चौका हानेपछि नेपाले यूएईलाई ६ विकेटले जित्यो । जितको एकमात्र हकदार ‘प्लेअर अफ द म्याच’ उनै सम्झना भइन्।
२०२३ मेमा टी–ट्वान्टी खेल्न मलेसिया भ्रमणमा जाँदा पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएकी सम्झनाले एक वर्षभित्रै नयाँ रेकर्ड राखेकी थिइन्। जबकि समग्र नेपालको महिला टिमलाई नै एसिया कपमा ५० रनको स्कोर माथि पुग्न संघर्ष गरिरहनुपरिरहेको बेला सम्झना एक्लैको ७२ रनको इनिङ्ग महत्त्वपूर्ण रह्यो। यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोगेको नेपालले ६ पटक ५० रनभन्दा कम स्कोरमा खुम्चिनु परेको थियो । खेलाडीका लागि व्यक्तिगत अर्धशतक त परको कुरा। यी सबै विगत बिर्साउँदै सम्झनाले गरेको विस्फोटक ब्याटिङले नेपाली प्रशंसकमाझ वाहवाही बटुल्यो।
फरक स्वभावकी सम्झना खेलकुदमा सानैदेखि विशेष रुचि राख्थिन् । तर उनका केटी साथीहरूको खेलमा खासै रुचि हुँदैनथ्यो। तर सम्झना दाइ उमेरकाहरू सँगै भए पनि खेल्न कुद्थिन्। २०७० सालतिर बझाङमा क्रिकेट खेल भर्खर–भर्खर सुरु भएको थियो । उनी दाइहरू खेलिरहेको ठाउँमा पुग्थिन् । दाइहरूले पनि उनलाई अन्तिममा एक÷दुई बल खेल्न दिन्थे। बाँकी समय अरूले खेलेको हेरेरै बिताउँथिन्। सम्झना १० कक्षामा पढ्दै थिइन्। एक दिन घरमाथिको स्कुलमा क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनोट हुने कार्यक्रमबारे थाहा पाएर हेर्न गइन्। छनोटकर्ताहरू बल ‘क्याच’ गर्न लगाउँथे । सहभागीहरू ‘क्याच’ गर्न असफल हुन्थे। ‘निकैबेर हेरें कसैले पनि सकेनन्। मलाई उकुसमुकुस भएर योभन्दा त म सक्छु भनेर कराएँ,’ सम्झनाले औपचारिक रूपमा बल समातेको पहिलो दिन सम्झँदै भनिन्, ‘उनीहरूले मलाई पालो दिए। नभन्दै मैले सबै बल ‘क्याच’ गरेर देखाएँ।’ त्यही दिन उनलाई क्षेत्रीय प्रतियोगिता खेल्नका लागि छनोट गरियो ।
अब उनी अरूले खेलेको बल खोज्नेबाट आफैं खेल्ने भइसकेकी थिइन्। उनलाई टिम कप्तान बनाइयो । केही दिनको अभ्यासपछि बैतडीमा भएको प्रतियोगिता खेलेकी उनी उत्कृष्ट ब्याटर भइन्। क्षेत्र नं ६ को टिमबाट राष्ट्रिय प्रतियोगितामा खेल्न थालिन्। यसैबीच एसएलसी पास भएपछि स्थानीय जालपा माध्यमिक विद्यालयमा कृषि विज्ञानको प्रवेश परीक्षामा नाम निकालिन्। भर्नाको समयमा विद्यालय प्रशासनलाई उनको एउटा सर्त थियो, ‘पढाइको बीचमा पनि प्रतियोगिता भए क्रिकेट खेल्न पाउनुपर्छ ।’ तर विद्यालयले उनको सर्त स्विकारेन । उनले खेल नछोड्ने बरु कृषि विज्ञान नपढ्ने निर्णय लिइन्। यो निर्णयले उनको परिवार चिन्तामा प¥यो । आमाबुबा सम्झनाले पढेर जागिर गरोस् भन्ने चाहन्थे ।
‘छोराले खेलेर त हुँदैन। तिमी क्रिकेट मात्रै भनेर आफ्नो पढाइ र भविष्य नबिगार भनेर आमाबुबा भन्नुहुन्थ्यो,’ सम्झना भन्छिन्, ‘तर म भने सपना पनि क्रिकेट मात्रै देख्थे। मेरो सपना पूरा गर्न दिनुस् भनेर अनुरोध गर्थें ।’ यसैबीच नेपाल क्रिकेट संघ निलम्बनमा प¥यो। क्रिकेटका औपचारिक स्पर्धाहरू नहुने भएपछि सम्झना अनमि पढ्न दिपायल गइन्। अनमि पढ्दा पनि उनी सुदूरपश्चिममा हुने खेलहरूमा भने सहभागी भइरहिन्। २०७६ मा अनमि पास भएर आएपछि घरबाट जागिर खानुपर्ने दबाब झन् चर्को हुन थाल्यो। ‘मलाई क्रिकेटको लत लागिसकेको थियो। कुनै हालतमा छोड्न सक्ने अवस्थामा थिइनँ,’ सम्झना भन्छिन्, ‘दुई वर्ष मात्रै समय दिनुस् । त्यो अवधिमा राम्रो गर्न नसके म सधैंका लागि खेल्न छोडिदिन्छु भनेर आमालाई सम्झाएँ।’
परिवारको समर्थन पाएपछि खेल अभ्यास गर्न धनगढीमा डेरा लिएर बसेकी सम्झना दिउँसो सिनियरसँग सिक्थिन्। राति सिलिङको पंखामा डोरीले बल बाँधेर ब्याटिङको अभ्यास गर्थिन्। ‘माथिल्लो तलामा मेरो कोठा थियो। घरबेटीहरू तल्लो तलामा बस्थे,’ रातभर खेल अभ्यास गर्दाको दिन सम्झँदै उनले भनिन्, ‘राति तिम्रो तलामा खुब डाङ्डुङ हुन्छ। के होला भनेर सोध्थे। मैले गरेको भन्ने थाहा पाए कोठाबाट निकाल्देलान् भनेर म थाहा छैन भनिदिन्थें।’ अहोरात्र क्रिकेटको साधना गरेर क्षमता बनाएको भए पनि सम्झना खेलमा भने उचित स्थान पाउँदैन थिइन्। कोच र व्यवस्थापकहरू खेलाडी छनोटमा पक्षपात गर्थे। खेलको अन्तिममा सबै खेलाडी आउट भएपछि उनको पालो आउँथ्यो। कहिले त पालै आउँदैनथ्यो। क्षमता प्रदर्शन गर्न नपाउँदा घरमा आएर धेरै पटक रोएको सम्झना सुनाउँछिन्।
२०७८ मा धनगढीमा भएको मुख्यमन्त्री कपमा अन्तिममा खेल्न दिए पनि उनले उत्कृष्ट प्रदर्शन गरिन्। ‘त्यो कुराले दबाब परेछ क्यारे। त्यसबेलादेखि मलाई ठाउँ दिन थाले,’ उनले भनिन्। खेलमा उनको समर्पण र मिहिनेत बढ्दै थियो। समाजमा पनि कुरा काट्नेहरू बढ्दै थिए । कतिपयले उनलाई क्रिकेट सिकाउन सहयोग गर्ने दाइहरूसँग नाम जोडर चरित्रमा औंला उठाउँथे । कतिपय घरबार गरेर बस्ने बेला बढेकी छोरीले खेलेर के हुन्छ ? भनेर घरमा कुरा लगाउँथे, तर सम्झनाले हिम्मत हारिनन्। उनी थप अभ्यासका लागि काठमाडौं गइन्। जडीबुटीमा कोठा लिएर कीर्तिपुरमा खेल अभ्यास गर्दा भोग्नुपरेको कष्ट सम्झँदा पनि उनको अनुहार अँध्यारो भयो। ‘दिनभर अभ्यास गरेर साँझ थकाइले धेरै दिन खाना नखाएरै पनि सुतेकी छु,’ उनले भनिन्।
समाजले जे जस्तो कुरा गरे पनि क्रिकेटमा स्थापित हुने उनको दृढता टसमस भएको छैन। अहिले त परिवार मात्रै होइन आफन्तले पनि उनलाई साथ दिन थालेका छन्। ‘अहिले त टीका लगाउँदा पनि राम्रो खेल्नु भनेर आशीर्वाद दिनुहुन्छ । घरमा सबै खुसी हुनुहुन्छ,’ उनले भनिन्। अहिलेसम्म सम्झनाले नेपाली टोलीको तर्फबाट हङकङ, मलेसिया, भारतलगायत देशमा भएका खेलमा राम्रो प्रदर्शन गरिसकेकी छन्। महिला क्रिकेटमा विश्वकप खेल्ने अबको उनको लक्ष्य छ। पुरुष टोलीकै सरह महिला टोलीलाई अनुभवी प्रशिक्षक र अभ्यासको व्यवस्था हुने हो भने विश्वकपको सपना धेरै टाढा नभएको उनले बताइन् । ‘व्यवस्थापन राम्रो हुने हो भने नेपाली महिला टोलीले जुनसुकै खेलमा उत्कृष्ट प्रदर्शनगर्न सक्छ। अहिलेसम्म खेल्दा मैले साथीहरूमा त्यो उच्च आत्मविश्वास पाएकी छु,’ उनले भनिन्। कान्तिपुरबाट