धनगढीकी बुटिक सञ्चालक कुँवरले गरिन् मानवसेवा आश्रमलाई सहयोग
धनगढीः धनगढी-१ पार्क मोडस्थित सल्मा बुटिक एन्ड कलेक्सनकी सञ्चालक सल्मा कुँवरले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेकी छन्। कुँवरले जन्मदिनको अवसरमा आश्रमलाई ५० हजार मूल्य बराबरको खाद्यान्न र सिरक सहयोग गरेकी हुन्।
जन्मदिन मनाउने नाममा व्यर्थको खर्च गरेर पार्टी गर्नुभन्दा असहायलाई सहयोग गर्नु उत्तम ठानेर मानवसेवा आश्रम धनगढीलाई सहयोग गरेको कुँवरले बताइन्। उनले आश्रमलाई बिहीवार १२५ किलो मेगा मन्सुली चामल, २० लिटर खाने तेल, २५ किलो मिक्स दाल र १० ओटा फाइवर सिरक हस्तान्तरण गरेकी हुन्।
कुँवरले देशका १९ जिल्लाको २३ ठाउँमा विस्तार गरिएको मानवसेवा आश्रमको कार्यशैली तथा सेवाभावबाट प्रभावित भएर जन्मदिनको अवसर पारेर सकेको सहयोग गरेको बताइन्। युवा अवस्थामै धनगढीमा बुटिक व्यावसायमा जमेकी कुँवरले भनिन्, ‘व्यवसायीले फाइदामुखी मात्र नभई विभिन्न समाजिक क्षेत्रमा पनि योगदान दिन सक्नुपर्छ। यही मान्यताका कारण फजुल खर्च गर्नुभन्दा मानवीय क्षेत्रमा सकेको सहयोग गरेकी हुँ।’