सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा ३१ माओवादी मारिए 

२०८१ असोज १९, ०७:११ खबर संवाददाता

एजेन्सीः भारतको छत्तिसगढ राज्यको प्रहरीले सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा ३१ जना संदिग्ध माओवादी विद्रोही मारिएको जनाएको छ।

नारायणपुर र दन्तेवाडा जिल्लाको सीमामा पर्ने अबुझमद जंगलमा रहेका ५० जना संदिग्ध विद्रोहीलाई गुप्तचर सूचनाको आधारमा सुरक्षाकर्मीले घेरेपछि शुक्रवार दुई पक्षबीच भिडन्त भएको प्रहरी महानिरीक्षक पट्टीलिंगम सुन्दरराजले बताए।

सुन्दरराजका अनुसार दुई पक्षबीच ९ घण्टासम्म भिडन्त भएको हो। भीडन्तपछि सुरक्षाकर्मीहरूले अटोमेटिक राइफललगायत धेरै हतियारहरू बरामद गरेका र उक्त क्षेत्रमा खोजी अभियान चलाएका जनाइएको छ। घटनामा सरकारी सेनामा भने कुनै हताहत नभएको बताइएको छ। घटनाबारे विद्रोही पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

छत्तीसगढ लगायतका केही राज्यमा भारतीय सेना १९६७ देखि नक्सलवादी भनेर चिनिने माओवादी विद्रोहीहरूसँग द्वन्द्वमा संलग्न छ। देशका गरिब आदिवासी समुदायहरूका लागि रोजगारी, जग्गा र प्राकृतिक स्रोतबाट प्राप्त सम्पत्तिको ठूलो हिस्सा माग गर्दै सुरू भएको आन्दोलन लामो समयदेखि जारी छ।

चिनियाँ क्रान्तिकारी नेता माओत्से तुङबाट प्रेरित विद्रोहीहरू मध्य र उत्तरी राज्यहरूमा सक्रिय छन्। भारतले विद्रोहीविरुद्ध लड्न विगतका वर्षहरूमा दुर्गम क्षेत्रका पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ। सरकारले सन् २०१० मा ९६ जिल्ला रहेको द्वन्द्व २०२३ मा ४५ जिल्लामा झरेको दाबी गरेको छ। यद्यपि, विद्रोहीसँगको युद्धका क्रममा ठूलो संख्याका सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस