सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र 

२०८१ असोज १८, ०६:१५ खबर संवाददाता

बैतडीः बैतडीमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै मुुख्यमन्त्री कमलबहादुुर शाहलाई ज्ञापन पत्र बुुझाइएको छ।

जिल्लाको पाटन नगरपालिका–८ मा रहेको ट्रमा सेन्टर यथाशीघ्र सञ्चालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाइएको हो। आज (शुक्रवार) दिउँसो ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेका मुख्यमन्त्री शाहलाई पाटन नगरपालिका–८ र सिद्धेश्वर स्वास्थ्यचौकीकातर्फबाट ज्ञापन पत्र बुझाइएको हो।

दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपदमा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन्। ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन।

भौतिक संरचना निर्माण भइसक्दा समेत ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्टले बताए। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले ट्रमा सेन्टर सञ्चालनको लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन्। 

 

कमेन्ट लोड गर्नुस