सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेटमाथिको छलफलमा प्रदेश सांसद खेमादेवीले कमिसनखोर भनेपछि... 

२०८१ असोज ५, ०५:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको बजेटमाथि प्रदेश सभा सदस्यहरुले कडा टिप्पणी गरेका छन्।

शनिबार प्रदेश सभामा बजेटमाथिको छलफलमा बोल्दै अधिकांश सांसदहरुले कडा टिप्पणी गरेका हुन्। प्रदेश सभामा बजेट माथिको छलफलकै  क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमादेबी विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले आपत्ती जनाएका छन्।

कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभित्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं भन्दै उनले यो बजेट कहाँबाट आयो, कसरी आयो? सरकारलाई बताईदिन आग्रह गरेकी थिइन। उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि लगाएकी छन्।

विष्टले बोल्दाबोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर शब्दप्रति आपत्ती जनाउदै सो शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरेका छन्। सभामुख भीमबहादुर भण्डारीले पनि उक्त शब्दमाथि छानबिन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए। त्यस्तै प्रदेश सभा सदस्य खुसीराम डगौरा थारुले भन्सरिया लोभी, पापी भएको बताएका छन्।

उनले सरकारमा इमान्दारीता कम देखिएको बताएका छन्। उनले बजेटका २१ बुँदे, ४ बुँदे आधार तयार गरे पनि त्यो कार्यान्वयन नभएको बताएका हुन्। बजेट जनसङ्ख्या, भूगोल र राज्वश्वको आधारमा विनियोजन गरिनुपर्ने बताएका छन्। प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले सुदूरपश्चिमको राजधानीको विषयमा बजेट किन नबोलेको भन्दै प्रश्न उठाएका छन्।

सुदूरपश्चिम सरकारले भदौ ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले सरकार प्रदेशको संस्थागत इन्सिच्युसनका बारेमा बेवारिसे बनेको बताएका हुन्। सुदूरपश्चिमको राजधानी कहाँ हो?’ उनले डोटीबाट खोसिएको राजधानी दुई तिहाइले गोदावरीमा बनाउने भने पनि अहिले कहाँ गएको भनेर प्रश्न गरेका छन्। त्यस्तै नेकपा माओवादीबाट प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन्।

बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले सन्तुलन गुमाएको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेशको माग गरेका हुन। यसअघि असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सुदूरपश्चिम सरकारले उक्त बजेट फिर्ता लिएर चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि अर्को बजेट ल्याएको छ। सरकारले ल्याएको उक्त बजेटमाथि प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन्।

कमेन्ट लोड गर्नुस