सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले पर्यटनको बजेट कैलाली र कञ्चनपुरमा खन्यायो

२०८१ असोज ३, ०७:०८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम सरकारले सदा झै यो वर्ष पनि कैलाली र कञ्चनपुरमा विकास बजेट खन्याएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा तराईका दुई जिल्लामा पर्यटन पूर्वाधार विकासका योजनामा बजेट खन्याएको हो।

पहाडी सात जिल्लाका पर्यटन विकासका योजनामा नगण्य बजेट हालेको सरकारले कैलालीको लम्की चुहा र कञ्चनपुरको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी सङ्ख्यामा योजना र बजेट हालेको छ। वार्षिक विकास कार्यक्रम पुस्तिकामा मन्त्रालय र प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कैलालीले कार्यान्वयन गर्ने दुई जिल्लाका योजनामा चार गुणा बढी बजेट राखिएको छ।

यस्तो छ योजनाको विवरण

चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा मन्त्रालय, समिति र प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कैलालीले कार्यान्वयन गर्न एक सय योजना परेका छन्। ती योजना मध्ये सबैभन्दा बढी ४४ योजना कैलाली र १७ योजना कञ्चनपुर जिल्लाका छन्।

सरकारले अछाम जिल्लामा पर्यटन विकासका ७, बैतडीमा ६, बझाङमा तीन, तथा डोटी, बाजुरा, दार्चुला र डडेल्धुरामा समान २/२ योजना मात्रै हालेको छ।

पर्यटन विकासका योजना हेर्दा प्रदेश सरकारले बजेटको सन्तुलित वितरण गर्न सकेको छैन। जसरी योजनाको संख्या कैलाली र कञ्चनपुरमा बढी सोही हिसाबले यी दुई जिल्लामा पहाडी जिल्लाको तुलनामा चार गुणा बढी बजेट राखिएको छ। कैलालीका ४४ योजनामा ८ करोड ५९ लाख बजेट विनियोजन गरिँदा कञ्चनपुरका १७ योजनामा ३ करोड १५ लाख बजेट छ।

यस्तै, बजेट विनियोजनमा प्रदेश सरकारको बहिस्करणमा परेको डोटीमा दुई योजना मध्ये एकमा २० लाख र अर्कोमा ५ लाख बजेट छ। यस्तै दार्चुलाको दुई योजनामा एउटामा २० लाख र अर्कोमा १५ लाख, डडेल्धुराका दुई योजनामा एकमा १५ लाख र अर्कोमा ५ लाख तथा बझाङको तीन योजनामा दुईमा १५/१५ लाख र एउटामा १० लाख बजेट विनियोजन गरिएको छ।

बाजुरामा भने बडीमालिका मेला व्यवस्थापन गर्न ७ लाख तथा बडीमालिका पर्यटकीय क्षेत्रमा पदमार्ग, मन्दिर परिसरमा रेलिङ निर्माण, शौचालय, विश्रामस्थान निर्माण, खानेपानी व्यवस्थापन र मन्दिरमा चढाइएको घण्टी व्यवस्थापन गर्न एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ।

पहाडी जिल्ला मध्ये बैतडीमा सबैभन्दा बढी ६ योजनामा दुई करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक सय कार्यक्रम हेर्दा प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र प्रभावशाली प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा अत्यधिक बजेट हाल्ने प्रवृत्ति यो पटक पनि दोहरिएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस