सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल क्यानडासँग १०३ रनले पराजित

२०८१ असोज १, ०६:२१ खबर संवाददाता

काठमाडौं: नेपाली क्रिकेट टोली क्यानडासँग पराजित भएको छ। आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५३ रन बनायो। क्यानडाका लागि कप्तान निकोलस किर्टनले सर्वाधिक अविजित ७३ रन बनाए । ४४ बल खेलेका उनले तीन चौका र छ छक्का प्रहार गरे।

त्यस्तै नवनित धलिवालले ४८, डिलोन हलिगरले ३०, हर्ष ठाकरले २७ तथा प्रगत सिंह र साद बिन जफरले समान १७ रन बनाए। बलिङतर्फ नेपालका सोमपाल कामी र ललित नारायण राजवंशीले समान दुइ विकेट लिंदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट हुन पुग्यो। नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन बनाए। ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए।

अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । यी चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए। गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट भए। नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाए। भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट भए।

क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए। विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ। जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ। यूएई ३ खेलमा विना अंक पुछारमा छ। लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन्। अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ।

कमेन्ट लोड गर्नुस