सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटै आर्थिक वर्षका लागि दोस्रो पटक प्रदेश सभामा बजेट पेस हुँदै

२०८१ भदौ ३१, ०४:१६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा बजेट  पेश गर्दैछ। पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले यसअघि आसार १ गते पहिलो पटक बजेट पेश गरेको थियो। समाजवादी, एमाले र माओवादी गठबन्धन सरकारले पेश गरेको बजेट केन्द्रमा गठबन्धन फेरिएसँगै पास हुन सकेको थिएन।

नेकपा एमालेले सरकार छोडेपछि अल्पमातमा परेका सोडारीले अध्यादेश मार्फत बजेट पारित गर्ने खोजेका थिए तर प्रदेश प्रमुखको साथ नपाउँदा अध्यादेश ल्याउने विकल्प समेत बन्द भएको थियो। त्यसपछि साउन १८ गते सोडारीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए। २०८१ बैशाख ६ गते एमाले, माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले बजेट पारित गर्न नपाउँदै सत्ताबाट हट्नु परेको थियो।

२०७९ माघ २६ गते पहिलो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यकन्त्री नियुक्त भएका हुन्। काँग्रेस एमाले गठबन्धनबाट शाहले दोहरिएर मुख्यमन्त्री हुने अवसर पाएका हुन्।

सुशासन र पारदर्शिताको नारा दिएर मुख्यमन्त्री बनेका शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षको दुई महिना बितेपछि सोमवार बजेट प्रस्तुत गर्दै छ। तर बजेट प्रस्तुत नगर्दै प्रमुख प्रतिपक्षी दल माओवादी र समाजवादीले बिरोध जनाएका छन्। उनीहरूले एउटै आर्थिक वर्षका लागि दुई पटक संसदमा बजेट पेश गर्नु गैरसंवैधानिक कदम भएको भन्दै बिरोध जनाएका हुन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस