सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्गको निःशुल्क उपचारमा बझाङको भानुले पाए ‘नयाँ जीवन’

२०८१ भदौ २५, ०७:२१ खबर संवाददाता

धनगढी : सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशी धनगढीस्थित निसर्ग हस्पिटलमा चिकित्सकको ४५ दिनको उपचारपछि घर फिर्ता भएका छन्। आर्थिक अवस्था कमजोर भएका जोशीले उपचार शुल्क तिर्न नसकेपछि हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत उनको उपचारको क्रममा लागेको मोटो रकम मिनाहा गरेको हो।

उपचारसँगै उपचार शुल्क मिनाहा भएपछि उनीसँगै उनको परिवारमा खुसी छाएको छ। अस्पतालको ४५ दिने बसाइँपछि उनी सोमवार बझाङ फर्केका छन्। उनी ६ महिनाअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो। यसअघि सवारी बिमाबाट पहिलो चरणको उपचार गरिसकेका उनको दोस्रो चरणको उपचारमा कतैबाट उपचार खर्च नजुटेपछि निराश थिए। ‘छोराको उपचारमा लागेको पैसा तिर्नका लागि विभिन्न संघ संस्थामा धायौँ कहीँबाट केही जुगाड भएन,’ विरामी भानुका बुबा धने जोशीले भने,‘अन्ततः अस्पतालसँग हारगुहार गरेँ, अस्पतालले पनि मेरो पारिवारिक र आर्थिक अवस्थाका बारेमा बुझेछ।’

अस्पतालले ४५ दिनसम्म लागेको २ लाख ७२ हजार एक सय ५० रुपैयाँ निःशुल्क गरेपछि छोराले पुनर्जीवन पाउनुका साथै आफ्नो परिवारमा खुशी छाएको उनले बताए । ‘यति ठूलो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने थिएनौं,’ उनले भने,‘हाम्रो अवस्था हेरेर अस्पतालले जम्मै रकम मिनाहा गरेर हामीमाथि ठूलो गुन लगाएको छ ।’ २१ वर्षीय भानु उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका थिए । उनी ६ महिना अघि मोटरसाइकल दुर्घटनामा घाइते भए। टाउकोको पहिलो चरणको शल्यक्रियामा बिमा कम्पनीले उपचार खर्च तिरेपनि दोस्रो चरणको शल्यक्रियामा भने उनले कहिँकतैबाट रकम पाएनन् । ‘छोराको उपचार त गर्नै प¥यो, जस्तो पर्ला भनेर अस्पताल ल्याएँ, उपचार सुरु गराएँ,’ बुबा धनेले भने,‘तर, पैसाका लागि कहीँबाट जुगाड नै भएन । अस्पतालको शुल्क तिर्न अनेक प्रयास गरेँ, कहिँबाट केही सिप नचलेपछि अस्पताल प्रशासनसँग विनति गरेँ । अस्पतालले पनि मेरो अवस्था बुझिदियो।’

लामो समयको उपचारपछि घर फर्कदै गर्दा भानुले आफूलाई सन्चो भएको बताउँदै भने,‘मेरो उपचारमा संलग्न चिकित्सक टोली र यति ठूलो रकम मिनाहा गर्ने निसर्ग हस्पिटललाई धन्यवाद दिन चाहन्छु । यो गुन म कहिल्यै बिर्सने छैन ।’

बिरामी भानुको पारिवारिक अवस्थाका बारेमा बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क २ लाख ७२ हजार १ सय ५० रुपैयाँ मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तीर्थराज पन्तले बताए । उनले भने,‘टाउकोको शल्यक्रिया शुल्कदेखि ४५ दिनसम्मको अस्पतालको बसाइँबापतको २ लाख ७२ हजार १ सय ५० रुपैयाँ हामीले मिनाहा ग¥यौँ।’ सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले पनि समय समयमा विभिन्न काम गर्दै आएपनि आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा विगतदेखि सहयोग गर्दै आएको अध्यक्ष पन्तले बताए । ‘हामी प्रति विश्वास, भरोसा र आशा लिएर बिरामी आउँछन्,’ अध्यक्ष पन्तले भने,‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सक्ने सहयोग गर्दै आएका छौँ ।’ यो मात्रै नभएर निसर्ग हस्पिटलले पटक–पटक बेसहारा, आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्दै आएको उनले बताए।

 

कमेन्ट लोड गर्नुस