सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा आर्मीमाथि एपिएफको रोमाञ्चक जित

२०८१ भदौ २२, ०६:०९ खबर संवाददाता

काठमाडौँः एपिएफ क्लबले एन्फा महिला लिगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो। एपिएफको जितमा सविता रानामगरले पहिलो हाफको इन्जुरी समय र गीता रानामगरले ६७औँ मिनेटमा गोल गरिन।

आर्मीका लागि विमला चौधरीले ५६औँ मिनेटमा सान्त्वना गोल गरिन। जितसँगै एपिएफले दुई खेलबाट चार अङ्क बनाएको छ। आर्मीको समान खेलबाट तीन अङ्क छ। लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ।
 

कमेन्ट लोड गर्नुस