सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका लोकबहादुर खड्का ६ वर्षदेखि प्लास्टिकमुक्त धनगढी अभियानमा

२०८१ भदौ २१, ०७:०९ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–५ जाईका लोकबहादुर खड्काले  प्लास्टिकमुक्त धनगढी अभियान चलाएको आगामी कात्तिकमा ६ वर्ष पूरा हुँदैछ।

६ वर्षदेखि सरसफाइमा लागेका खड्काले बाचुन्जेल सफा धनगढी अभियानमा योगदान गर्ने बताएका छन्। बिहान ३ बजे उठेर फोहर तथा प्लास्टिक संकलन गर्दै आएका खड्कालाई एक महिना अगाडि उपमहानगरले मासिक १० हजार पारिश्रमिक दिने गरी एक जना सहयोगी समेत उपलब्ध गराएको छ। तर खड्काले भने स्वयंसेवककै रुपमा सरसफाइ गर्दै आएका छन्।

खड्काले वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र तथा वडा नम्बर ५ को पुरानो हसनपुर क्षेत्रबाहेकमा नियमित सरसफाइ गर्दै आएका छन्। आफ्नो नेतृत्वमा ८/१० जना स्वयंसेवक परिचालन गर्न सके पूरै धनगढी उपमहानगरको सडक तथा गल्लीलाई प्लास्टिक र फोहरमुक्त गर्न सकिने खड्काको तर्क छ।
बिहान ३ बजे उठेर प्लास्टिक टिप्न थाल्छन् खड्का
धनगढीका लोकबहादुरले २०७५ कात्तिक १६ गतेदेखि प्लास्टिकमुक्त अभियान सुरू गरेका थिए। खड्काको बिहान ३ बजे उठ्ने र दस बजेसम्म फोहर उठाउने दिनचर्या नै बनेको छ। केही दिन अगाडि हृदयघात भएको बताउने खड्का अहिले भने बिहान ४ बजेदेखि फोहर उठाउन थालेका छन्। ठूलो टर्च लाइट, हातमा ग्लोब्स र लामो झिर तथा मुखमा मास्क लगाएर खड्काले प्लास्टिकजन्य फोहर संकलन गर्दै आएका छन्।

स्वस्फूर्त रुपमा खड्काले चलाएको सफा धनगढी अभियानलाई अहिले आएर उपमहानगरपालिकाले समेत स्वामित्व लिएर चलाएकोमा खड्का निकै खुशी छन्। उनले सफा धनगढी अभियानको मर्म नगर प्रमुख गोपाल हमालले बुझेकोमा खुशी व्यक्त गरेका छन्। ‘मैले सफा धनगढी अभियान चलाएको कात्तिक १६ गतेबाट सात वर्ष लाग्छ। यो अभियानको मर्म नगर प्रमुख हमाले बुझ्नुभएको छ तर अरूले बुझ्न सकेका छैनन’्, उनले भने, ‘मैले बाचुञ्जेल सफा धनगढी अभियानमा काम गर्ने हो। प्लास्टिकमुक्त धनगढी मेरो सपना हो।’
बिरामी पर्दा पनि अभियान छोडेनन्
हृदयघातका कारण १५ दिनसम्म प्लास्टिक उठाउन जान नसकेका खड्कालाई परिवारका सदस्यले बिहानै घरबाहिर नजान आग्रह गर्दै आएका छन्। तर, खड्काले भने प्राण रहुन्जेल सफा धनगढी अभियान छोड्न नसक्ने बताउने गरेका छन्। जसका कारण अहिले बिहान ४ या साढे चार बजे एकजना सहयोगीसँग फोहर उठाउन जाने गरेका छन्। खड्कासँगै फोहर उठाउने ती व्यक्तिलाई नगरपालिकाले प्रतिमहिना १० हजार पारिश्रमिक दिने भएको छ।

बिरामी पर्दा समेत आफ्नो अभियान छोड्न नसकेको र १५ दिन काममा जान नपाउँदा केही ठाउँमा प्लास्टिक उठाउन नसकिएको खड्काले बताए। खड्का र उनीसँगै प्लास्टिक उठाउने व्यक्ति मिलेर दैनिक १५ किलोमिटर जति सडक तथा बाटोमा फोहर उठाउँदै आएका छन्। पुरानो हसनपुर क्षेत्र बाहेक वडा नम्बर ५ र ६ का हरेक टोलमा पालो मिलाएर प्लास्टिक उठाउँदै आएका खड्काले झिरको सहयोगले फोहर उठाउने गरेका छन्।

झिर भरिएपछि फोहर राख्न सडक किनारका बिरुवामा फोहर संकलन गर्ने थैली झुन्ड्याएका छन्। तर, त्यो फोहर नगरपालिकाको फोहर संकलन गर्ने ठेकेदार कम्पनीले नउठाउँदा समस्या हुने गरेको छ। नगरपालिकामा गएर यो विषयमा गुनासो गर्दा समेत सुनुवाइ नभएको उनले बताए। हालै मात्र उपचार गरेर फर्केका खड्काले आफ्नो अभियान छोड्न नसक्ने बताए। ‘मेरो अभियान मेयरसाबले बुझ्नुभएको छ।

मेरोजस्तै भावना उनको पनि छ। तर, अरूको भावना त्यस्तो भएन त्यसैले मेरो गुनासोको पनि सुनुवाइ हुँदैन’, उनले भने, ‘८/१० जना म जस्तै भए धनगढीलाई देशकै सफा सहर बनाउन सकिन्छ। सफा धनगढीका लागि जथाभावी फोहर फाल्ने बानी सबैले छोड्नुपर्छ।’ खड्काले फोहर टिप्ने झिर आफैले बनाएका छन्। उनले बलियो किसिमको झाडु र फोहर राख्ने थैलीसमेत बनाएका छन्। तर, आफूले बनाएका सामग्रीको प्रचारप्रसार र प्रयोग गर्न नसकिएको उनको गुनासो छ। धनगढीलाई देशकै सफा सहर बनाउन सबैले सरसफाइमा ध्यान दिनुपर्ने र जथाभावी फोहर फाल्न नहुने खड्काको सुझाव छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस