सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले सभा गृह सञ्चालनको कार्यविधि बनाउने

२०८१ फाल्गुन २६, ०५:०४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सभा गृह सञ्चालनको कार्यविधि बनाउने भएको छ।

सहरी विकास मन्त्रालयले धनगढी उपमहानगरपालिकालाई ‘धनगढी सभा गृह’ सञ्चालनका लागि हस्तान्तरण गरेसँगै कार्यविधि बनाइने भएको हो।

धनगढी उपमहानगरपालिकाले सभा गृह सञ्चालनको कार्यविधि तयार पारेर सञ्चालन गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साँझ उद्घाटन गरेका थिए। प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने कार्यविधि बनाउनुपर्ने भएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले सभा गृह कार्यविधि बनाएर सञ्चालन गर्ने बताए। उनले भने, ‘सञ्चालनको विभिन्न प्रक्रियाहरू हुन्छन्। उपमहानगरपालिकाले कार्यविधि बनाउछ। उपमहानगरले आफै सञ्चालन गर्ने, निजी क्षेत्रलाई दिने वा संस्थालाई दिने भन्ने हुन्छ।’ प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए। धनगढी उपमहानगरपालिकाको स्वामित्वमा सभा गृह आएको हो।

सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो। सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो। धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ। सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ। दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ। सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन्। विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ।

सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो।

 

कमेन्ट लोड गर्नुस