नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
काठमाडौँः नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। उनी यसअघि नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन्।
तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले प्रबन्ध निर्देशकका लागि संगीता पहाडी अर्याल, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो। त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए।
३ जना मध्येबाट मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. अध्ययन गरेकी छन्।