सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षेत्रीय सहरी विकास अन्तर्गत धनगढीमा थप ४५० मिटर सडक कालोपत्र हुँदै

२०८१ भदौ १६, १०:२० कमल सावद

धनगढीः कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत थप चार सय ५० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ।

क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सबिच २०७७ असार २८ गते सडक कालोपत्र गर्न सम्झौता गरिएको थियो। क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा १० किलोमिटर सडक कलोपत्र गर्न सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण थालिएका सडकको थप गरिएको सडक निर्माणको समय २०८१ भदौमा सकिदैछ।

निर्माण कम्पनीका प्रतिनिधि प्रकाशचन्द्र खरेलले सडक निर्माणको ९० प्रतिशत काम पूरा भइसकेको बताए। उनले भने, ‘क्षेत्रीय सहरी विकासको काम ९० प्रतिशत पुरा भइसकेको छ। बाँकी १० प्रतिशत एक वर्षमा सक्नुपर्छ।’ धनगढी चौराहदेखि कैलाली पुल सडक खण्डमा एउटा कल्भर्ट निर्माणको काम थप गरिएको छ।

धनगढीको एलएन चोकदेखि राष्ट बैँकसम्म ४५० मिटर सडक निर्माणको कामसमेत थप गरिएको छ। धनगढी उपमहानगरपालिकाको आग्रहमा एउटा कल्भर्ट र ४५० मिटर सडक कालोपत्रको काम थप गरिएको छ। कल्भर्ट रहेको क्षेत्रमा ८० मिटर र एलएन चोक–राष्ट्र बैँक सडकको ४५० मिटर कालोपत्रको काम बाँकी छ। बाँकी क्षेत्रमा सडक कालोपत्रको काम सकिएको छ। तर, ठाउँ–ठाउँमा सडक मर्मत गर्नुपर्ने देखिएको छ।

उनले भने, ‘मुख्य सडकमा एउटा कल्भट र एलएनचोक–राष्ट बैँक सडकको काम थपिएको छ। पिचका लागि तयारीमा छौ। भदौ अन्तिमसम्म सकिन्छ।’ सडक कालोपत्र, फुटपाथ निर्माण, विद्युतीकरणको काम सकिएको छ। तर, हाइमास्क लाइट जडानको काम पूरा भएको छैन। २०८१ भदौ महिनाभित्र सबै काम पूरा गरेर हस्तान्तरण गर्ने दाबी निर्माण कम्पनीको छ। निर्माण कम्पनीका प्रतिनिधि खरेलले १५ प्रतिशत काम थप गर्न सकिने बताए।

उनले भने, ‘बिरुवा रोप्ने काम जारी छ। १५ दिनभित्र बिरुवाको काम सकिन्छ। बिजुलीको काम सकिएको छ। बत्ती जडानको काम बाँकी छ।’ धनगढी ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस