सुदूरपश्चिममा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम कृषि, पर्यटन, जडिबुटी, उर्जा र उद्योगका लागि संभावना बोकेको प्रदेश हो।
उर्जाका लागि नेपालकै धनी प्रदेश सुदूरपश्चिम हो। सुदूरपश्चिम प्रदेशमा १८ हजार १४९ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने जलस्रोत छ। कर्णाली–चिसापानी आयोजनाको क्षमता १० हजार ८ सय, पञ्चेश्वर आयोजनाको क्षमता ६ हजार ८ सय, पश्चिम सेतीको आयोजनाको क्षमता सात सय ५० र एसआरसिक्स आयोजनाको क्षमता ६ सय ५२ मेगावाट छ।
यी आयोजना निर्माणको विषय वर्षौंदेखि उठे पनि पश्चिम सेतीबाहेक अन्य आयोजनाको कुनै प्रक्रिया अगाडि बढेको छैन्। विभिन्न जलविद्युत् आयोजनामा गरिएको सर्भेअनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिमेगावाट जलविद्युत् उत्पादनका लागि २० करोड रुपैयाँ आवश्यक पर्छ।
सुदूरपश्चिम प्रदेशको सम्भावित सबै विद्युत् उत्पादन गर्न ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ। यति ठूलो संभावना हुँदाहुँदै पनि प्रत्यक्ष वैदेशिक लगानी भने यहाँ हुन सकेको छैन्। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको एक प्रतिवेदनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले हिजो (शुक्रवार) सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ अनुसार सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम देखिएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा देशमा कुल प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब ९५ अर्ब ५० करोड छ।
त्यसको एक प्रतिशतभन्दा कम लगानी सुदूरपश्चिममा देखिएको छ। सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी बागमतीमा ५९ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५ दशमलव एक प्रतिशत, कोशी प्रदेशमा १४ दशमलव सात प्रतिशत, मधेश प्रदेशमा ८ दशमलव आठ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।