आयल निगमका कर्मचारीबिच कुटाकुट, एक जनाको मृत्यु
धनुषाः नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर) स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिराहा नगरपालिका–३ का राकेशकुमार बर्मा रहेका छन्। उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ। कुटाकुटमा संलग्न अर्का कर्मचारी धनुषाधाम–३ का प्रकाश यादवलाई प्रहरीले निगम कार्यालयबाटै पक्राउ गरेको छ।
दुवै कर्मचारी करारमा कार्यरत रहेको निगमले जनाएको छ। शुक्रबार बिहान १०ः३० बजे दुवैबिच सामान्य विवाद भएपछि कुटाकुटमा उत्रिएर घटना घटेको प्रहरीको प्रारम्भिक विश्लेषण छ। मृत्यु हुने बर्मा चार वर्षदेखि करारमा कार्यरत थिए।