सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा
काठमाडौंः सशस्त्र प्रहरी बल नेपालका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ।
गृह मन्त्रालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो। मन्त्री स्तरको निर्णयअनुसार बुधवार डिआइजीको काज सरुवा गरेको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको प्रशासनिक दृष्टिकोण तथा संगठनको आवश्यकता अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ (१) ख बमोजिम काज सरुवा गरिएको बताइएको छ। डिआइजी अभिकुमार खत्री ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा तानिएका छन्।
दुर्गा प्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन्। उनी यसअघि ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत थिए। त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदिप कुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देही पठाइएको छ। मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।