सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट देशभर भिड्दै ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

२०८१ भदौ ७, १२:२८ खबर संवाददाता

काठमाडौँ: आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म हुन् ‘सतीदेवी’ र ‘नमेटिने घाउ’। फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक अर्कोसँग भिड्न लागेका हुन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा बनेको हो भने  ‘नमेटिने घाउ’ले  एसिड पीडितको कथा उठाएको छ। 

अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको ‘सतीदेवी’मा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ।

गत मंगलबार साँझ बिग मुभिजमा प्रिमिएर भएको फिल्मले प्रिमिएरमा अधिकांशबाट उत्कृष्ट रहेको प्रतिक्रिया पाएको थियो। फिल्म हेर्ने धेरैको आँखा रसाएको पनि देखिन्थ्यो। फिल्म हेरेका दर्शकले फिल्मले लैङ्गिक समानताको पक्षमा सामाजिक सन्देश दिएको धारणा समेत राखेका थिए।

फिल्ममा अभिनेत्री मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन्। छोरीको कथामा निर्माण भएको फिल्ममा बाबु र छोरीबिचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोच विरुद्धको सङ्घर्षको कथा छ । निर्देशक सुवेदीले फिल्म ‘सतीदेवी’ नभएर एउटा क्रान्ति भएको बताउँदै आएका छन्।  

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ। दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन्।

नमेटिने घाउ 

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ ले ३३ जना एसिड पीडितहरूको कथा उठाएको छ। 

मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको फिल्म रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको हो।फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत रहेको छ। 

कमेन्ट लोड गर्नुस