सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सन्त पाइलट बाबाको निधन

२०८१ भदौ ५, ०६:०८

काठमाडौंः भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ। मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए। 

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो। यही नामले उनी प्रसिद्ध भए। पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन्। आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए। 

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन्। भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए। 
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मेका थिए।

हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाएका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो। जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने जनाइएको छ। उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट लोड गर्नुस