सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट बर्सेनि ८ अर्ब ६६ करोडको पशुजन्य उत्पादन निकासी हुँदै

२०८१ भदौ ३, १२:५४ नारायण अवस्थी

धनगढीः कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन निकासी हुने गरेको पाइएको छ।

कैलालीबाट कर्णाली, गण्डकी प्रदेश र काठमाडौंमा राँगा/भैंसी, खसी र बोका निर्यात हुने गरेको पाइएको छ। वार्षिक करिब ५० हजार खसी/बाख्रा र २५ हजार रागाँ/भैंसी कैलालीबाट निकासी भएको सकारी तथ्यांकले देखाएको हो। जिल्लाबाट ३ अर्ब ४० करोडको दुध, १८ करोडको वटर र घ्यु तथा ८ करोडको छुर्पी समेत निर्यात भएको छ।
कोरोनापछि पशुपालन गर्ने बढे
सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीपछि पशु तथा पशुजन्य उत्पादन बढेको छ। कोरोनापछि किसानमा पशुपालन गर्ने र त्यसबाट आम्दानी गर्ने बानीको विकास भएको छ। कैलालीको मोहन्याल तथा चुरे गाउँपालिका लगायत तराई क्षेत्रको ग्रामीण इलाकामा पशुपालन गर्नेहरूको संख्या बढेको छ।

पशुपालनमा पनि बाख्रा पालन बढेकाले कैलाली र कञ्चनपुरका चुरे क्षेत्रसहित पहाडी क्षेत्रमा बिक्री योग्य खसी/बाख्राको संख्या बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।

उनले कोरोनापछि ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको संख्या बढेको बताए। ‘कोरानापछि पशुपालन गर्नेको संख्या बढेको पाइएको छ। ठुलो पशु फार्म नभए पनि संख्यात्मक हिसाबले हरेक परिवारले पशु चौपायाको संख्या बढाएका छन्,’ डाक्टर अवस्थीले भने।
यस्तो छ पशु निकासीको वार्षिक विवरण 
कैलालीबाट चिसापानी हुँदै दैनिक चार ट्रक खसी/बोका निर्यात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा कैलाली हुँदै देशका अन्य प्रदेशमा ४९ हजार ७६४ खसी÷बोका निर्यात भएको तथ्याङ्कले देखाएको हो। प्रति खसी/बोका १६ हजारका दरले ३ अर्ब ५० करोडको खसी÷बोका निर्यात भएको छ। यस्तै, दैनिक ३ ट्रक राँगा/भैंसी निर्यात हुने गरेको छ।

प्रति भैंसी ५५ हजार परल मूल्यका हिसाबले एक वर्षमा करिब २५ हजार जिउँदो राँगा/भैंसी निर्यातबाट एक अर्ब ६० करोड आम्दीनी हुने तथ्याङ्क रहेको डाक्टर अवस्थीले बताए। कैलालीमा वार्षिक ३ अर्ब ४० करोडको दुध उत्पादन हुने गरेको छ।

यस्तै, १८ करोडको वटर र घ्युको कारोबार हुने गरेको छ भने ८ करोडको छुर्पी निर्यात हुने गरेको सरकारी तथ्याङ्क छ। कैलालीमा ठुला पशु फार्म नभए पनि ग्रामीण क्षेत्रमा सानो संख्यामा बाख्रा पालन गर्ने किसानको संख्या बढेको छ। यस्तै सुदूरपश्चिमका पहाडी जिल्लाबाट ल्याइएका राँगा/भैंसी समेत कैलाली हुँदै अन्यत्र पठाइने गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस