कोरोनापछि एमपक्सको चुनौती बढ्दो
काठमाडौँः कोभिड भाइरसको महामारी सकिएको एक वर्ष नपुग्दै विश्व समुदायलाई अर्को भाइरसको संक्रमणले चिन्ता थपिदिएको छ।
पहिलो पटक डेनमार्कमा देखापरेको एमपक्स (मंकीपक्स) पछिल्लो समय अफ्रिकी देशहरूमा बर्सेनि फैलिँदै गएको छ। केही दिनयता एमपक्सको प्रकोप अफ्रिकाका केही भागहरूमा तीव्र रूपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले एमपक्स अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ‘धेरै चिन्ताजनक’ अवस्था भनेका छन् ‘यो प्रकोप रोक्न र जीवन बचाउन अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ,’ उनले भनेका छन्। अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्सले एमपक्सका कारण मंगलबार नै जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो।
संस्थाका प्रमुख डाक्टर जान कसेयले प्रकोपलाई नियन्त्रण बाहिर जान नदिन तत्कालै कदम चाल्न आवश्यक भएको बताएका थिए। मंकीपक्स पछिल्लो समय मध्य तथा पूर्वी अफ्रिकामा द्रूत गतिमा फैलिइरहेको छ। अत्यधिक संक्रामक मानिने एमपक्सले कंगोमा प्रारम्भिक प्रकोपका क्रममा नै कम्तीमा ४५० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
मध्य र पूर्वी अफ्रिकामा निकै तीव्र गतिमा फैलिइरहेको एमपक्सको नयाँ भेरियन्टको सर्ने गति र त्यसले निम्त्याइरहेको क्षतिको दर निकै उच्च भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। डब्लूएचओका अनुसार एमपक्स हालसम्म अफ्रिकी देशसहित अस्ट्रेलिया, इजरायल, स्विट्जरल्यान्ड, क्यानडा, अमेरिका, बेलायत, जर्मनी, स्विडेन, बेल्जियम, स्पेन, पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड, इटाली, भारत, नेपाल लगायत ११६ देशमा देखा परिसकेको छ।
दक्षिणी छिमेकी भारतमा यसको संक्रमण पछिल्लो पटक गत जुनमा देखिएको थियो। भारतमा २०२२ जनवरीदेखि २०२४ जुनसम्ममा २७ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये एक जनाको ज्यान गएको डब्लूएचओले जनाएको छ।
नेपालमा भने एमपक्सको पहिलो र एक मात्र संक्रमण २०८० असारमा पुष्टि भएको थियो। नेपालमा रहेकी एक विदेशी महिलामा यसको संक्रमण देखिएको थियो।
तर पछिल्लो समय विभिन्न देशमा संक्रमण फैलिएसँगै नेपालमा पनि चिन्ता थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार डब्लूएचओले एमपक्सको संक्रमणलाई विश्वभर स्वास्थ्य आपत्काल घोषणा गरेसँगै नेपाललाई पनि जानकारी गराएको छ। उनका अनुसार डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको अवस्थामा के–के गर्ने भन्ने विषय पूर्वनिर्धारित हुन्छ।
सोहीअनुसार नेपालमा पनि सरोकारवाला सबै पक्षहरूको आकस्मिक बैठक बसेर हाललाई १६ वटा स्थल नाका र एउटा हवाई नाकामा हेल्थ डेस्कलाई हाई अलर्टमा राखिसकिएको छ। एक वर्षअघि एक विदेशी महिलामा पुष्टि भएयता नेपालमा हालसम्म कसैमा पनि यसको संक्रमण फेला परेको छैन। एमपक्स संक्रमित व्यक्तिसँगको यौन सम्पर्क, छालासँगको संसर्ग, अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा सर्न सक्छ।
एमपक्स संक्रमित व्यक्तिमा फ्लुजस्ता लक्षणहरू देखिन्छन्। त्यस्तै, छालामा घाउ हुने र त्यो निकै घातक हुन सक्छ। एमपक्सको संक्रमण बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै हुने गर्छ। संक्रमितमध्ये कतिपयमा भने यो भाइरसले कमैलाई मात्र गम्भीर बिरामी बनाउने गरेको छ। वैज्ञानिकहरूका अनुसार यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ। मानिसमा पहिलो पटक १९७० मै यसको संक्रमण पुष्टि भए पनि १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि एमपक्स मध्यपूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ। २०२२ यता त यसले हरेक वर्ष विश्वव्यापी प्रकोपको रूप लिँदै आएको छ।