सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

२०८१ साउन ३१, ०८:३२ खबर संवाददाता

पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा  आक्रमण बढाउँदै गएको छ।

यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी जनरल स्टाफले  टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्यन हतियार नष्ट गर्नु रहेको उल्लेख छ।

कुस्र्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन्। सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रूसको कुस्र्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेकोे क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताए। यसैबीच, मस्कोबाट प्राप्त समाचारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्र्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रुपमा वर्णन गर्दै  युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन्।

रूसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्र्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ। रूसले कुस्र्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका  ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस