सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा छिटो चुनाव गराउन हसिनाका छोरा सजीबको चेतावनी

२०८१ साउन २७, ०९:०२ खबर संवाददाता

एजेन्सीः बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बंगलादेशमा अन्तरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाएका छन्।

उनले निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिए। प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमवार मित्र राष्ट्र भारततर्फ गएकी थिइन्। पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ।

उनी भारत आएपछि सेनाले उनको राजीनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ। अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्व सरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिएका छन्।

उनले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वार्तामा भनेका छन्, ’अहिले बंगलादेशमा भीडको शासन छ। प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ।’

हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गरेकी थिइन् तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए। हसिना भागेपछि लाखौँको सङ्ख्यामा रहेका उनको आवामी लिगका सदस्यहरू लुकेर बसेका छन्। 
 

कमेन्ट लोड गर्नुस