भारतीय पर्यटकलाई लक्षित गरेर चिसापानी–राजकाँडा केबुलकार सञ्चालन हुने
धनगढीः चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले कैलालीमा चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा ल्याउन लागेका छन।
आगामी २ वर्षभित्र चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनमा ल्याउन लागिएको हो। लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले चिसापानीलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘केबुलकार, पाँचतारे होटल, पार्कहरु निर्माण गर्दैछौ। महेन्द्रनगर, धनगढी र टीकापुर र नेपालगञ्जबाट आउने भारतीय पर्यटक, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटकलाई लक्षित गरेर आयोजना अगाडी बढाएका छौ। निर्माण कार्य सुरु भएको १८ महिनादेखि २ वर्षमा काम सकिन्छ।’
एक हजार १, ८६६ रुख कटानी
कर्णाली चिसापानी–राजकाँडा केबुलकार सञ्चालनका लागि नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ समेत भुक्तानी गरिसकिएको छ। केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार ८६६ रुख काटिएका छन्। जाल्पादेवी केबुलकार कम्पनीको नाममा दुई सय ५० रोपनी जग्गामा घेरबार समेत गरिएको छ।
चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। ढकालले भने, ‘आयोजनाको काम अगाढी बढेको छ। प्रक्रियाको हिसाबले सबै सुरु भएको छ। जग्गाको काम सकिएको छ। निर्माणको काम सुरु गर्ने प्रक्रियामा छौ।’ कम्पनीले तीन दशमलव एक किलोमिटर लामो केबुलकार सञ्चालनमा ल्याउन लागेको छ। सो परियोजना सम्पन्न गर्न ७ अर्ब लगानी अनुमान गरिएको छ।
केबुलकारसँगै पाँचतारे होटल, तीन तारे होटल, सेमिनार हल, पाँचवटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्क लगायतका संरचना निर्माण गरिने कम्पनीको योजना छ। चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट समय लाग्नेछ।
केबुलकारमा भ्रमण गर्ने पर्यटकले २० मिनेटमै फरक–फरक वातावरणको अनुभूति गर्न पाउनेछन्। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पार्टी प्यालेस, होटल तथा रेस्टुरेन्ट, जाल्पादेवीको ठूलो मुर्ति, दरवार र गुफा व्यवस्थित गर्ने कम्पनीको योजना छ। राजकाडाँमा प्राकृतिक चिकित्सालयको योजनासमेत बनाइएको छ।
पाँच सयलाई रोजगारी
कर्णाली चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा आएपछि तीनदेखि पाँच सयले रोजगारी पाउने दाबी गरिएको छ। केबुलकारका प्राविधिक, सुरक्षाकर्मी, होटल, रेस्टुरेन्टका कर्मचारीसहित पाँच सय कर्मचारी जाल्पादेवी केबुलकार कम्पनीले भर्ना गर्नेछ। ढकालले भने, ‘कर्मचारीको संख्या पर्यटकको संख्याले निर्भर गर्छ। तर, हामीले तीन सय ५० देखि पाँच सयसम्म कर्मचारी आवश्यक पर्ने अनुमान गरेका छौ।
एक सय ५० कोठाको होटल निर्माण गरिनेछ। हामीले लगानी बढाउदै लैजाने योजना बनाएका छौ।’ केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्। दैनिक ६ हजार यात्रुलाई सेवा दिन सकिने क्षमताको केबुलकार निर्माण गरिन लागेको छ।
कर्णाली–चिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाश धामलगायतका धार्मिक स्थल, हात्ती ढुङ्गालगायत पर्यटकीय स्थलको अवलोकन गर्न सकिनेछ। जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापा र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षको संयुक्त लगानीमा केबुलकार सञ्चालनका लागि भौतिक संरचनाहरू निर्माण थालिएको छ।
चन्द्रागिरि केबुलकारको अनुभव
कर्णाली चिसापानीमा बहुआयामिक पर्यटन विकासका लागि चन्द्रागिरि केबुलकारका सञ्चालक ढकाल र थापाको संयुक्त लगानीमा केबुलकार सञ्चालनको काम अघि बढाइएको छ। ढकालले चन्द्रागिरि केबुलकारको अनुभवका आधारमा सुदूरपश्चिममा पहिलो पटक केबुलकार सञ्चालनका लागि लगानी गरेको बताए। उनले भने, ‘चन्द्रागिरिमा केबुलकार सञ्चालन गरेका छौ।
पर्यटन क्षेत्रको विकास गर्दा बहुआयामिक हुनुपर्छ। पर्यटनको विकास गर्दा कृषि र स्थानीय उत्पादनलाई समेत ध्यान दिनुपर्ने रहेछ। तरकारी, फलफूल, स्थानीय उत्पादनहरूलाई समेत ध्यानमा राख्नुपर्ने रहेछ। पर्यटकहरूलाई आवश्यक वस्तुहरूको ध्यान दियो भने नाफा हुँदो रहेछ। कृषि उत्पादन, जडिबुँडीमा पनि ध्यान दिएका छौ।’