चलचित्र ‘घर नम्बर २’ मा केकी र उपासना फाइनल
काठमाडौंः साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ।
यो फिल्मको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन्। अब, फिल्मका लागि मुख्य दुई नायिका पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ। यो फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ।
केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ। केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन्। यस्तै, उपासनाले फिल्म ‘खुस्मा’को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन्। योसँगै फिल्ममा मुख्य कलाकारहरुको लाइनअप बलियो बनेको छ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको कथा वुद्दिसागरले लेखेका हुन्। फिल्मको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ। ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।
फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको भनाई छ। यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ। फिल्मलाई यही बर्ष नै रिलिज गर्ने तयारी गरिएको छ।