सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकको सिफारिसमा धनगढीका नागरिकलाई निःशुल्क रगत

२०८१ साउन १७, ०७:४९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। चिकित्सकको सिफारिसमा धनगढीमा स्थायी बसोबास भएका व्यक्तिले निःशुल्क रगत पाउनेछन।

अस्पताल भर्ना भएर उपचार गराउने क्रममा रगतको आवश्यकता परे बिरामीका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट निःशुल्क रगत पाउने व्यवस्था मिलाइएको छ। बुधवार धनगढी उपमहानगरपालिकाले नेपाल रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई रगत निःशुल्क गरेको हो। उपमहानगरपालिकाले रेडक्रसलाई त्रैमासिक रूपमा रगत परीक्षणमा लाग्ने रकम बुझाउने छ।

चिकित्सकको सिफारिसको आधारमा रगत दिइने

धनगढी उपमहानगरपालिकाले नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्क उपलब्धत गराउने सम्झौता गरेको हो। उपमहानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी धनगढी शाखासँग उपचारको क्रममा कुनै पनि नगरवासीलाई रगतको आवश्यकता परे निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको हो। बिरामीहरूलाई रगत चढाउनु पर्ने अवस्था आए चिकित्सकको सिफारिसको आधारमा रेडक्रसबाट रगत उपलब्ध गराइनेछ। धनगढीमा स्थायी बसोबास भएको प्रमाणका आधारमा निःशुल्क रगत उपलब्ध गराइने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

उपमहानगरले त्रैमासिक भुक्तानी गर्ने

धनगढी उपमहानगरपालिकाले त्रैमासिक रूपमा रेडक्रसलाई रकम भुक्तानी दिने सम्झौता भएको छ। ‘सम्झौताअनुसार धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट सोझै निःशुल्क रगत पाउने छन्। निःशुल्क रगतका लागि उपमहानगरपालिका धाउनुपर्ने छैन। हरेक तीन÷तीन महिनामा उपमहानगरले नेपाल रेडक्रस सोसाइटी धनगढी शाखालाई निःशुल्क रगत बापतको रकम तिर्नेछ,’ अवस्थीले भने।

बिरामी पर्दा रगत पाउन समस्या नहोस् भनेर निःशुल्क रगत पाउने व्यवस्था मिलाइएको हो। उपचार गराइरहेका बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविर समेत सञ्चालन गरिनेछ। रगत परीक्षण गर्दा प्रति पोका एक हजार १५० रुपैयाँ खर्च हुने गरेको छ। उपमहानगरले रेडक्रसलाई रक्त परीक्षण बापत लाग्ने शुल्क बराबर हुन आउने रकम त्रैमासिक रूपमा भुक्तानी गर्नेछ।

निःशुल्क रगत सेवा पाउन बिरामीले धनगढीमा स्थायी बसोबास भएको कुनै एक प्रमाण पेस गर्नुपर्ने छ। उक्त प्रमाणको आधारमा निःशुल्क रगत पाइनेछ। धनगढी घर भएका बिरामीले सम्झौता भएपछि प्रति पोका रगतको एक हजार १५० तिर्नुनपर्ने भएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस