मुख्यमन्त्री र मन्त्री नआएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ।
सोमबार २ बजे आह्वान गरिएको तेस्रो बैठकमा मुख्यमन्त्री र मन्त्री सहभागि नभएपछि सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन्। सभामुख भण्डारीले सभाको बैठकमा नियम पढेर सुनाउँदै बैठक स्थगित भएको जानकारी गराए।
‘अधिवेशनको बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ’ सभामुख भण्डारीले भने ‘मन्त्रीको उपस्थित नरहेकाले प्रदेश सभाको पूर्वनिर्धारित कार्यसूची बमोजिमको कारबाही अगाडि बढाउन सकिदैन।’ उनले तसर्थ पूर्वनिर्धारित कार्यसूचीमा उल्लेखित कार्यक्रमहरु बैठकको कार्यसूचीबाट हटाएको जानकारी गराए।