सुदूर नेपाललाई विश्वसँग जोड्दै

नियम अनुसार बक्यौता उठाइन्छ, प्राधिकरणसँग मतभेद छैन: प्रधानमन्त्री 

२०८१ साउन ९, ०७:२७ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युतको बक्यौता उठाइने बताएका छन्। उनले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको पनि दाबी गरेका छन्। 
 
‘हामीलाई उद्योगहरूबाट बक्यौता  उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ’, ओलीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।’

ओलीले मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको पनि बताए। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गर्ने भनिएको निर्णय साँझदेखि कार्यान्वयनमा आएको हो।

प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोडेको हो। उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि प्राधिकरणले ती उद्योगमा लाइन काटेको थियो।

कमेन्ट लोड गर्नुस