कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयोः सांसद शाही

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए। उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताए। उनले स्थानीय तहमा गएर झुटो विवरण पेस गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताए।
उनले भने,‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो। भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो। पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाइयो। र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन।
झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन।’उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे।

