सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीले जित्यो एनपिएलः सुदूरपश्चिम यो पटक पनि उपविजेता

२०८२ मंसिर २७, ०६:२० खबर संवाददाता

काठमाडौँः सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटकाे उपाधि जितेकाे छ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे। सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे। लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो। सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए।

पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे। सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे। सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे।

लुम्बिनीले एनपिएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ। यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो।

कमेन्ट लोड गर्नुस