विराटनगर किंग्समा आन्द्रे रसेलको इन्ट्री
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरले उपाधि दाबेदारीलाई बलियो बनाउने लक्ष्य राखेको छ।
टी–२० क्रिकेटका चर्चित खेलाडी रसेल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। दबाबपूर्ण परिस्थितिमा पनि खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण उनी विश्वका विभिन्न फ्रेन्चाइज लिगमा लोकप्रिय छन्।
रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनी सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्यसमेत थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट लामो समय खेलेका रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बीबीएल) लगायतका प्रतियोगितामा पनि आफ्नो क्षमता देखाइसकेका छन्।
रसेललाई टोलीमा स्वागत गर्दै विराटनगर किंग्सले उनको अनुभव र खेल कौशलले टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ। टोलीले यस सिजन प्रतिस्पर्धामा मात्र सीमित नभई उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।
विराटनगरसँग आबद्ध हुन पाउँदा उत्साहित रहेको बताउँदै रसेलले नेपाली क्रिकेट समर्थकसामु खेल्न आफू आतुर रहेको बताएका छन्। ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु। नेपाली क्रिकेट समर्थकहरूको जोश र माया अनुभव गर्न म आतुर छु,’ रसेलले भनेका छन्।