धनगढी–अत्तरिया ६ लेन सडक खण्डमा तीनवटा पुल निर्माणको काम अलपत्र
धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ सुनिखोलामा तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको ठेक्का पायो।
राजेन्द्र निर्माण सेवासँग पुल निर्माणको म्याद २०८० असारमा सकिएको छ। तर, सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशत मात्र पूरा भएको छ। बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पुरा हुन सकेको छैन। पटक–पटक म्याद थप गरिएको भएपनि निर्माण कम्पनीले काम नगरेपछि पुल निर्माण कार्य अलपत्र परेको हो।
महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले सुनिखोला पुलको काम यो बर्खामासमेत पूरा नभएको बताए। उनले भने, ‘पुलको काम ८५ प्रतिशत सकिएको छ। तर, सबै काम सकिएको छैन।’
गोदावरी नगरपालिकाकै मनहरा खोलामा पनि पुल निर्माणको काम अलपत्र छ। साढे ९ करोडको लागतमा निर्माण थालिएको सो पुल निर्माणको काम अलपत्र परेको हो।
उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले मनहरा खोलाको पुल निर्माणको जिम्मा पाएको छ। तर, पुलको डिजाइ संशोधन गर्नुपर्ने भएपछि प्रगति न्यून छ। मनहरा पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिदैछ। तर, पुलको जग निर्माणको कामसमेत सकिएको छैन। पन्तले भने, ‘यो पटकको दाहित्व तीन करोड छ। यो पटक ५० लाख मात्र बजेट थियो। अर्काे वर्षमा बजेटको समस्या होला जस्तो छ।’
नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा २७ महिनामा सक्ने गरी २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग पुल निर्माणको सम्झौता भएको छ। मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको छ। साढे १३ करोड लागतको मोहनापुलको जमिन मुनिको कामसमेत सकिएको छैन। मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ।
फुटपातसहितको पुल निर्माणका लागि २०८१ जेठ ५ गते समय सकिएको छ। २०८२ वैशाखसम्मका लागि समय थप गरिएको छ। आगामी आर्थिक वर्षका लागि पाँच करोड ५० लाख बजेट मोहना पुल निर्माणका लागि विनियोजन गरिएको छ।
महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भएपनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुन सक्ने बताए। नेपाल–भारत सीमाना गौरीफन्टादेखि अत्तरियासम्मको ६ लेन सडक विस्तार भएपछि तीनवटा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।