सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा सुत्केरीलाई ‘उपमेयरको कोसेली’

२०८१ असार २७, ०६:३५ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाभित्र सुत्केरी आमाहरुलाई कोसेली वितरण गरिएको छ।

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने उद्देश्यसहित ‘उपमेयरको कोसेली’वितरण गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए। 

आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली प्रदान गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन्। उनले भनिन् ‘अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ। नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि जागरुक हुन् भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं।’

नगरपालिकाभरी ४ सय बढी सुत्केरी आमाहरुलाई यो बर्ष ‘उपमेयरको कोसेली’ वितरण भइरहेको छ। सुत्केरी आमाहरुलाई कोसेली वितरणका लागि नगरभित्रका १३ ओटा स्वास्थ्य संस्थाहरुमा कोसेली पुर्याइएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए। 

‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ। सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। 

कमेन्ट लोड गर्नुस