सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोल्दा बोल्दै पद जान पनि सक्छ: कृषि मन्त्री थापा

२०८१ असार २२, ०५:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले बोल्दा बोल्दै पद जान सक्ने बताएकी छन्। धनगढीमा शनिवार १०२ औँ अन्तरराष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘अहिले म कृषि मन्त्रालयमा छु। तर, यहाँ बोल्दा बोल्दै पनि मेरो पद जान सक्ने अवस्था पनि देखेकी छु। ठुलो चिन्ता गर्नुपर्ने अवस्था पनि छ।’

मन्त्री थापले केन्द्रीय नेताहरूमा देशको विकासका लागि योजना नभएकाले समस्या भएको आरोप लगाएकी छन्। उनले देशका नेताहरूले देशको विकासका लागि दिशा दिन नसकेका बताइन। मन्त्री थापाले भनिन्, माथिका हाम्रा नेताहरूले नै देशलाई कसरी लैजाने भनेर एउटा दिशा लैजान सक्नु भएको छैन। सहकारीमार्फत ठुला–ठुला मान्छेहरू अप्ठ्यारोमा परिरहनु भएको अवस्था पनि छ।’ सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु फिर्ता गएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेकाले मन्त्री थापाको यस्तो धारण सार्वजनिक भएको हो। सुदूरपश्चिममा एकीकृत समाजवादी, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका मात्र मन्त्रीहरू रहेका छन्। थापा रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएकी हुन्। उनी रञ्जिता श्रेष्ठ पक्षबाट मन्त्री नियुक्त भएकी हुन्।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढीले १०२ औँ अन्तरराष्ट्रिय सहकारी दिवस मनाएको हो।

 

कमेन्ट लोड गर्नुस