सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

२०८१ असार २०, ११:२६ खबर संवाददाता

महेन्द्रनगरः नरबहादुर चन्दले भारतमा जन्मिए। उनी कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थाले। नरबहादुरका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे। त्यसैले उनको बाल्यकाल त्यहीँ बित्यो । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए। उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे। भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन्।

प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकीको उर्वरी भूमिका रुपमा चिनाएका छन्। भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकीका खेलाडी उत्पादनमा समर्पित छन् । उनकै मेहनतका कारण हकीमा सुदूरपश्चिम प्रदेश अब्बल छ। विसं २०५२ देखि कञ्चनपुरको महेन्द्रनगरमा हकी प्रशिक्षका रुपमा कार्यरत चन्दले हालसम्म ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन्।

सन् १९९५ मा भारतको मद्रास (हाल चेन्नई) मा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने तय भएको थियो। नेपालमा उक्त प्रतियोगिताको तयारी हुँदै थियो। नेपालले हकीमा भाग लिने भयो । तर नेपालमा हकी खेलको त्यती राम्रो अवस्था थिएन। नरबहादुर हकीमा भारतको राजस्थानमा चिनिएका खेलाडी थिए। उनको खेल देखेर नै भतिज गणेशबहादुर चन्दले नरबहादुरलाई सो प्रतियोगिताबारे जानकारी दिए। ‘घरबाट (महेन्द्रनगर) भतिज गणेबहादुरको फोन आयो, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट हकी खेल्ने अवसर छ भनेर खबर गरे’, २९ वर्षअघिको कुरा सम्झिदै नरबहादुरले भने–‘एक पटकको फोनको भरमा म नेपाल फर्किए र सोझै हकीको बन्द प्रशिक्षणम सहभागी भए।’ नरबहादुरका भतिज गणेशबहादुर हाल कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष छन्। उनी भारतको राजस्थानमा छँदा नरबहादुरका सहपाठी हुन्।

नरबहादुरले चेन्नईमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा हकीमा उत्कृष्ट खेल प्रदर्शन गरे। ‘मेरो प्रदर्शनबाट प्रभावित भएर हकीका तत्कालीन मुख्य प्रशिक्षक अशोक पाण्डेले हकीको कञ्चनपुरमा हकी सिकाउन अस्थायी नियुक्ति दिए।’ सातौँ दक्षिण एसियाली खेलकुदबाट फर्किएपछि हालसम्म उनी यतै हकी खेलाडी उत्पादनमा सक्रिय छन्।

नरबहादुर आफुलाई हकीको सफल प्रशिक्षक ठान्छन्। उनी आफ्नो भूमिकाप्रति सन्तुष्ट छन्। ‘मैले सिकाएका खेलाडी सुदूरपश्चिमको टोलीमा मात्र होइन् देशभर छरिएका छन्’, उनले भने। खासगरी नरबहादुरले उत्पादन गरेका खेलाडीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा दबदबा रहेको छ। विसं २०५२ मा हकी प्रशिक्षकका रुपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी भए। ‘पछिसम्म पनि भारतको राजस्थानबाट हकी खेल्न र जागिर खान निम्तो आइरहन्थ्यो’, नरबहादुरले भने– ‘अब म नेपालमै खेलाडी उत्पादन गर्छु, यसमै सन्तुष्ट छु।’

भारतको राजस्थानको उदयपुरमा स्वामी विवेकानन्द उच्च माध्यमिक विद्यालयमा पढ्दा विद्यालयका खेल प्रशिक्षक मधुकान्त सेनाडियाले नरबहादुरलाई हकी खेलमा प्रवेश गराएका हुन्। उक्त विद्यालयमा उनी सुरुआतमा फुटबल खेल्थे। प्रशिक्षककै करकापले पछि उनी हकी खेल्न थाले। हकी खेल्न थालेको वर्षदिनमै नरबहादुर जुनियरतर्फ उदयरपुर जिल्लाकै उत्कृष्ट खेलाडी बने। ‘त्यतीबेला भारतमा छँदा चारवटा राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा सहभागी भएँ’, उनले विगत सम्झिदै भने।

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्र हकीको अभ्यास गराइन्छ। यहाँ हकी निकै लोकप्रिय छ । भारतको गुवाहाटीमा भएको ११औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा सहभागी नेपालको महिला हकी टोलीमा सबै नरबहादुरले सिकाएका खेलाडी थिए। उनकै मेहनतका कारण पाचौँ र छैठाँै बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले महिला हकीमा स्वर्ण पदक जितेको थियो। त्यसपछिका राष्ट्रिय प्रतियोगितामा पनि नरबहादुरका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दैआएका छन्।

सन् २०१० मा बङ्लादेशको ढाकामा भएको १२औँ साफ खेलकुद प्रतियोगितामा पनि हकी खेलमा सहभागीमध्ये अधिकांश खेलाडी नरबहादुरकै उत्पादन थिए। महेन्द्रनगर नजिकैको उल्टाखाम त हकी खेलका नामले परिचित छ। कञ्चनपुरका महेन्द्रनगरस्थित कभर्डहल र भीमदत्त नगरपालिका–३ लक्ष्मी माविको चउरमा उनले हकी सिकाउँदै आएका छन्। उनलाई पूर्वाधार अभाव खड्केको छ। ‘फुटबल मैदानमा हकी सिकाउनुपर्ने अवस्था छ’, उनले भने। नरबहादुरले हकीका सिनियर खेलाडी कान्तुराम पनेरुको निजी पहलमा हकी मैदान बनाउन प्रयास भइरहेको बताए। पनेरुसँगै हातेमालो गर्न उनी कस्सिएका छन्।

‘स्तरीय खेल मैदान र खेल सामग्री प्राप्त भए हकीमा धेरै प्रगति गर्न सकिन्छ’, प्रशिक्षक नरबहादुरले उत्साहित हुँदै भने । हालसम्म महेन्द्रनगरस्थित कभर्डहलमा उत्पादन गरेका ६८ तथा उल्टाखाम गाउँबाट उत्पादन भएका १६ खेलाडीले नेपालको टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकी प्रतियोगिता खेलिसकेको उनले जानकारी दिए। ‘हाल ६५ खेलाडी हकीको नियमित प्रशिक्षणमा आउने गरेका छन्’, प्रशिक्षक नरबहादुरले भने।

नरबहादुरका सहपाठी कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्द नरबहादुरको हकीमा गरेको मेहनत लोभलाग्दो भएको बताउँछन्। ‘खेलमैदान र खेल सामग्री अभावमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन’, उनले भने।

 

कमेन्ट लोड गर्नुस