सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भोलि चितवनमा रोपाइँ महोत्सव हुने

२०८१ असार १४, ०६:१२ खबर संवाददाता

चितवनः हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो।

रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो।

महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताए। बछौली बहुउद्देश्यीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी समेत दिइने उनले बताए।
 

कमेन्ट लोड गर्नुस