सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जेरीः अन टप’बाट हटाइएपछि आनाको गुनासो

२०८१ असार १४, ०५:१९ खबर संवाददाता

काठमाडौंः अभिनेत्री आना शर्माले ‘जेरीः अन टप’बाट हटाइएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

बिरामी भएको बेलामा दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको कारण विना जानकारी निर्माण पक्षले हटाएको उनको गुनासो छ। ‘मेरो मन चिरिएको छ। बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो।

यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु।’ उनले भनिन्। आफूले मिडियाबाट यसबारे जानकारी पाएको उनले बताइन्। उनले भनेकी छन्, ‘फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें। उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ। यसले मलाई ठूलो चोट दियो।’

आफ्नो स्थानमा अरू कलाकारलाई लिएपछि नाक जोगाउन निर्माण पक्ष तथानाम बकिरहेको उनको भनाइ छ। फिल्म भ्यालेनटाइन डे अर्थात् फागुन २ गते रिलिज हुनेछ। अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरूङ छन्।
 

कमेन्ट लोड गर्नुस