सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा ऐनविपरीत एक करोड ५८ लाख खर्च

२०८१ असार ११, ०१:३९ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले एक करोड ५८ लाख रुपैयाँ अनियमित रुपमा खर्च गरेको पाइएको छ।

नगरपालिकाले विभिन्न वस्तु अनियमित रुपमा ऐनविपरीत सोझै खरिद गरेको पाइएको हो। नगरपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२), सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३, नियमावलीको नियम ८५, नियम ८ विपरीत वस्तु तथा सेवा सोझै खरिद गरेको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९/८० को प्रतिवेदनमा एक करोड ५८ लाख ८७ हजार ९१९ रुपैयाँ खर्चेर विभिन्न वस्तु तथा सेवा ऐनविपरीत सोझै खरिद गरिएको उल्लेख छ। प्रतिवेदनअनुसार नगरपालिकाको परिसरमा माटो भरानमा मात्र ९ लाख ९१ हजार ८९२ रुपैयाँ ऐनविपरीत खर्च गरिएको छ। नगरपालिका परिसरमा ग्राभेलका लागि थप ४ लाख ९५ हजार पाँच सय ९ रुपैयाँ खर्च गरिएको छ।

नगरपालिकाले परिसरमा पक्की नाली निर्माणमा ९ लाख ४७ हजार ३९ रुपैयाँ खर्च गरेको छ। सो नगरपालिकाले भाडाको भवन मर्मतमा सात लाख ६२ हजार तीन सय ४० रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले ३१ लाख ९६ हजार ७८० रुपैयाँ ऐनविपरीत भुक्तानी दिएको समेत खुलेको छ।

वडा नम्बर ७ मा प्रिमिक्स कार्पेटिङमा चार लाख १५ हजार ३२८, वडा नम्बर ३ मा ९ लाख ८८ हजार ९४४ को कार्पेटिङ, वडा नम्बर २ मा पाँच लाख १५ हजार ३२८ रुपैयाँ ऐनविपरीत कार्पेटमा खर्च भएको छ। तीनवटा वडा कार्यालयहरुले १९ लाख १९ हजार ६ सय रुपैयाँका कार्पेट ऐनविपरीत खरिद गरेको समेत पाइएको छ। 

नगरपालिकाले ९ लाख ९८ हजार ९२० रुपैयाँका एसी खरिद, २ लाख ६५ हजार पाँच सय ५० रुपैयाँमा एसी जडान, सात लाख एक हजार ६२५ रुपैयाँका एसी तथा टिभी खरिद, बोरिङ्ग जडानमा चार लाख पाँच हजार २३२, वडा नम्बर ३ को कार्यालय घेरबारमा २ लाख ९२ हजार पाँच सय ७६ रुपैयाँ, कार्यालय निर्माण तथा सामानमा सात लाख ४३ हजार ४२७, माटो फिलिङ्गमा तीन लाख ८५ हजार ३२५, फेरी माटो फिलिङ्गमा तीन लाख ९० हजार पाँच सय २४, सडक ग्राभेलमा ६ लाख ९८ हजार ८३८, वडा नम्बर ४ मा कलभर्ट निर्माणमा चार लाख ७७ हजार ४५६, वडा नम्बर १ मा पक्की पर्खाल निर्माणमा एक लाख ९५ हजार १४४ रुपैयाँ ऐनविपरीत खर्च गरिएको छ।

त्यस्तै, वडा नम्बर १२ मा पार्क निर्माण गर्न चार लाख ९९ हजार आठ सय चार, वडा नम्बर १ मा आँखा अस्पतालको ट्रस निर्माण गर्न ६ लाख ६० हजार पाँच सय ७६, वडा नम्बर ३ मा कलभर्ट निर्माणमा ९ लाख ८८ हजार पाँच सय तीन, वडा नम्बर १ मा स्वास्थ्य चौकी घेरबार र ग्राभेलमा आठ लाख ७७ हजार तीन सय ६४, विद्युत सामाग्री खरिदका लागि २ लाख २७ हजार सात सय ७९, पहलमानपुर चोकमा ह्युमपाइप जडान गर्न पाँच लाख ९६ हजार ८७२, डोडानदीमा ग्याविन पर्खाल निर्माणमा चार लाख ८६ हजार ८ सय चार र कृष्ण मन्दिरमा धर्मशाला निर्माण गर्न ८ लाख ७९ हजार २१९ रुपैयाँ खर्च गरिएको छ। घोडाघोडी नगरपालिकाले सेवा तथा वस्तु ऐनविपरीत खरिद गरेर ३१ लाख ९६ हजार सात सय ८० रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस