सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप: अपराजित रहँदै भारत सेमिफाइनलमा

२०८१ असार ११, ०६:११ खबर संवाददाता

काठमाडौँ: टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ। २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो।

जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ। अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ।

अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ। सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए। मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे। ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए। उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे। भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए। कुलदीप यादवले २ विकेट हात पारे। जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो। कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे। मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे।

भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन। दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए। त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए। पन्त १५ रन बनाएर आउट भए। त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे। यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने। उनले ३ चौका र २ छक्का प्रहार गरे।

शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। मार्कस स्टोइनिसले पनि २ विकेट लिए। तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए। जोस हेजलवुडले एक विकेट हात पारे।

कमेन्ट लोड गर्नुस