संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान
काठमाडौँः गृह सचिव एकनारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल अमेरिका गएको छ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन सोमवार त्यसतर्फ प्रस्थान गरेको छ। गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन्।
गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे। उक्त समिटमा पिस अप्रेसन, पिस इन्फोर्समेन्ट लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ।
सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवं टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवं साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।