धनगढी उपमहानगरले थप चार रुटमा नगर बस सञ्चालन गर्ने
धनगढीः धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा नगर बस सञ्चालन गर्दै आएकोमा आगामी आर्थिक वर्षबाट थप चान वटा रुटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।
धनगढी उपमहानगरपालिकाले आगामी बजेटमै थप चान रुटमा नगर बस सेवा सञ्चालन गर्न आवश्यक तयारी गरेको जनाएको छ।
उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एकापसमा जोडी आर्थिक गतिविधिहरू सञ्चालन गर्दै उपमहानगरबासीको आयआर्जन वृद्धि गर्न नगर बस सेवा विस्तार गर्न लागिएको हो।
उपमहानरपालिकाले धनगढी-कनरी- रामपुर- चौमला रुटमा नगर बस सेवा सञ्चालन गर्ने भएको हो। यसैगरी, धनगढी-पथरी-वनबेहडा तथा बेली-जुगेडा-घूईंयाघाट-बंगरा कटान र धनगढी-घोडसुवा-स्याउले रुटमा नगर बस सञ्चालन गर्ने तयारी गरेको हो।
धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा २०८१ भदौदेखि नगर बस सेवा सञ्चालनमा ल्याएको हो। नयाँ चार रुट थप भएसँगै धनगढी उपमहानगरपालिकाले नगर बस सेवा पाँच रुटमा सञ्चालन गर्ने भएको हो।
नगर बस सेवा विस्तार गर्न ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ।