सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१औँ दिन

२०८१ असार ३, ०४:५० खबर संवाददाता

काठमाडौंः यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ।

काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो। निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन्। यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ।

सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी थिइन्।  स्वरमा उनी बाहेक प्रायः नयाँ कलाकार भएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनलाई गयो।

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष आगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताइन्। उनले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए। ‘मलाई त्यो भूमिका निर्वाह गर्नुथियो। मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ’, अभिनेत्री अधिकारीले भनिन्।

डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो। गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताइन्।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन्। “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ। उनले सुरुमा अस्वीकार गरे, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उनले भनिन्। उनी आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिन्छिन्। 
 

कमेन्ट लोड गर्नुस