सुदूर नेपाललाई विश्वसँग जोड्दै

 टी–२० विश्वकपः नेपाल बंगलादेशसँग २१ रनले पराजित 

२०८१ असार ३, ०८:५४ खबर संवाददाता

काठमाडौँ: टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ। १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो। नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए। ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए। उनी प्लेयर अफ द म्याच चुनिए।

त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। साकिब अल हसनले २ विकेट लिए। कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे। १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे। 

दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए। उनले चार चौका प्रहार गरे। किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो। 

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन्। बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए। महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले। नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेपाली बलरले खेलको प्रारम्भदेखि नै बंगलादेशी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए। बंगलादेले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो। सोमपाल कामीले बंगलादेशका ओपनर ब्याट्सम्यान तानजिद हसनलाई खाता खोल्नुअघि नै पेभेलियन फर्काएका थिए। सोमपालले आफ्नो बलमा आफैले तानजिदको क्याच लिएका थिए।

बंगलादेशको दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए। उनले तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोलाई चार रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए। १.३ ओभरमा कप्तान सान्तो आउट हुँदा बंगलादेशले केवल सात रन बनाएको थियो। यसैगरी बंगलादेशले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर लिटन दासलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान लिटन दासको विकेट सोमपाल कामीले लिएका थिए। सोमपालले लिटन दासलाई १० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए। ४.३ ओभरमा लिटन दास आउट हुँदा बंगलादेशले २१ रन बनाएको थियो।

बंगलादेशको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए। उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई नौ रनको ब्यक्तिगत स्कोरमा सन्दीप लामिछानेद्वारा क्याच गराए । ५.४ ओभरमा हृदोय आउट हुँदा बंगलादेशले ३० रन बनाएको थियो।

बंगलादेशले पाँचौँ विकेटका रुपमा महमुदुल्लाहलाई गुमाएको थियो। उनी १३ रन बनाउँदै रन आउट भएका थिए। नवौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा बंगलादेशले ५२ रन बनाएको थियो । उनलाई रन आउट गराउन सन्दीप लामिछाने र गुलसान झाको योगदान रह्यो।

यसैगरी बंगलादेशले छैटौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई गुमाएको थियो। उनको विकेट कप्तान रोहित पौडेलले लिएका थिए। रोहितले सकिब अल हसनलाई १७ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन्। ११.४ ओभरमा सकिब आउट हुँदा बंगलादेशले ६१ रन बनाएको थियो। 

बंगलादेशको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए। उनले बंगलादेशका तानजिम हसन सकिबलाई तीन रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए। बंगलादेशले १३.२ ओभरमा सातौँ विकेट गुमाउँदा ६९ रन बनाएको थियो।बंगलादेशको आठौँ विकेट पनि सन्दीपले नै लिएका थिए। उनले बंगलादेशका जाकेर अलीलाई १२ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए। १५.३ ओभरमा आठौँ विकेट गुमाउँदा बंगलादेशले ७५ रन बनाएको थियो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिएको यो एक सयौँ विकेट थियो। 

यसैगरी बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए। उनले बंगलादेशका ब्याट्सम्यान रिसाद होसैलाई १३ रनको ब्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए। १७.१ ओभरमा नवौँ विकेट गुमाउँदा बंगलादेशले ८८ रन बनाएको थियो।

बंगलादेशले अन्तिम विकेटका रुपमा मुस्तफिजुर रहमानलाई तीन रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो। उनी रन आउट भएका थिए । उनलाई रन आउट गराउन रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको योगदान रह्यो। तास्किन अहमद भने १२ रनमा अविजित रहे। बंगलादेशले अतिरिक्त रुपमा १० रन पायो।

कमेन्ट लोड गर्नुस